एमाले ब्यूँतिदा यी नेतालाई सबैभन्दा ठूलो क्षति

काठमाडौं । सर्वोच्च अदालतको फैसालबाट सबैभन्दा धेरै तनावमा पूर्वप्रधानमन्त्री मावधकुमार नेपाल भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएर नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई ब्यूताइदिएपछि नेता नेपाल समस्यामा परेका हुन् । उनले अदालतको फैसलालाई अस्वभाविक भनेर टिप्पणी गरेका छन् ।

उनले आफू कुन दलको हो भन्नेबारेमा स्पष्ट हुन नसकेको विभिन्न सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिएका छन् ।

उनले सर्वोच्चको फैसलाले के–के असर पर्छ आकलन गर्न सकिने अवस्थै नरहेको बताएका छन् । ‘हिजो राष्ट्रियसभाबाट जितेकाहरू एमाले पनि होइनन्’, उनले भने, ‘वेदुराम भुसालजी कुन पार्टीको त अब ? प्रतिनिधिसभामा विजयी विद्या भट्टराई कुन पार्टीको ?’

उप–निर्वाचनबाट स्थानीय तहमा आएकाहरू कुन पार्टीको होभन्दै नेता नेपालले समस्या त खडा भएको बताएका छन् ।

‘हामी छलफलमै छौं’, उनले भने, ‘कानूनी र राजनीतिक हिसाबले छलफल र परामर्श गरेर अघि बढ्छौँ ।’

कारबाहीबाट आफू नडराउने उनले बताएका छन् । नेपालले अदालतको फैसलाले आफ्नो समूह सबैभन्दा अप्ठ्यारो परेको बताए ।

‘किन यस्तो भयो होला ? यो त विचित्रै भयो’, उनले प्रश्न गर्दै भने, ‘जुन चिजमा प्रवेश नै नगर्नुपर्ने किन यस्तो गरेको होला ? के हो ?’

प्रधानमन्त्री केपी ओलीले आफूलाई निशाना बनाएको नेता नेपालले बताएका छन् । ‘टार्गेट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन’, नेपालले भनेका छन् ।

‘मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आइपर्‍यो त्यो स्थिति ?’, उनले प्रश्न गरेका छन् ।

नेपालले यो अवस्था आउँछ भनेर आफूले कहिल्यै नसोँचेको बताएका छन् । नेकपा (एमाले)को बैठकमा जानेबारेमा साथीहरूसँग सरसल्लाह गरेर अगाडि बढ्ने उनले बताएका छन् । ‘हामी पहिले बस्छौं’, नेपालले भने, ‘त्यसपछि के गर्ने र कसरी अगाडि बढ्ने भन्नेमा निर्णय हुन्छ ।’

Published : Monday, 2021 March 8, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया