पहिलो दिन संसदमा के–के भयो ? दुईतिहाइवाला कम्युनिस्टहरू कांग्रेससँग डराए

काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको माग गरेर नारावाजी गरेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

संसदको अर्को बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । सहमति हुन नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कांग्रेस र जसपाले संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् ।

संसदको पहिलो बैठक नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले बहिष्कार गरेको थियो ।

प्रचण्ड–माधव समूहले बहिस्कार गरेर हिँडेपछि कांग्रेसले रोष्टम घेराउ गरेको थियो । कांग्रेसले संवैधानिक परिषदसम्बन्धि अध्यादेशको विरोध गरेको छ ।

संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए ।

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेसका सासदहरू आ–आफ्नो आसनबाट उठेर वेल घेराउ गरेका थिए । कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

सभामुख सापकोटाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसहरू उभिएर विरोध गरेका थिए ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गरेकी थिइन् ।

उनले भनेकी छिन्, ‘संविधानले संवैधानिक परिषद् भनेको कुनै प्रधानमन्त्रीले, कुनै सरकारले नियुक्ति गर्ने ठाउँ होइन । राज्यले नियुक्ति गर्ने ठाउँ हो ।’

‘राज्य भनेको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका हो सभामुख महोदय तर आज सरकारले संसदलाई विघटन गरेको वहानामा अध्यायदेश ल्याउने बहानामा संसदको भावना विपरित जुन अध्यादेशलाई ल्याएर राज्यका संबैधानिक अंगहरुको प्रमुख र सदस्यहरूको नियुक्ति गर्ने काम गर्यो यसले संविधानको धज्जी उठेको हुनाले यो अध्यादेशलाई स्वीकार गर्दैन’, भुसालले भनेकी छिन् ।

‘सरकारलाई आग्रह गर्छ यो अध्यादेश संविधानको भावना विपरित भएकाले यो अध्यादेश संसद भित्र प्रवेश नगराएर तुरुन्तै फिर्ता लैजानका लागि प्रमुख प्रतिपक्षी दल आग्रह गर्दछ’, उनले भनेकी छिन् ।

सभामुखले अध्यादेश पेश गर्ने कार्यक्रम अगाडि बढाएपछि पुनः कांग्रेसका सांसदहरू उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाणलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक खाणले संविधान विपरित आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरेका थिए । ‘असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्न। पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्यायो। यो अध्यादेश यो सदनमा प्रवेश गर्न सक्क्तैन’, खाणले भने, ‘यो असंवैधानिक अध्यादेश अबिलम्ब फिर्ता गरियोस् ।’

कानूनमन्त्री लीलानाथ श्रेष्ठले अध्यादेश पेश गरेपछि कांग्रेसका सांसदहरू नाराबाजी गर्दै वेल घेर्न आईपुगेका थिए ।

सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । आइतबार हिउँदे अधिवेसन सुरू भएको छ । पहिलो बैठक नै प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण अवरुद्ध बनेको छ ।

Published : Sunday, 2021 March 7, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया