ललितपुरमा कीर्तेकाण्ड गर्ने कम्युनिस्ट वडाध्यक्षलाई कारबाही गर्न अध्यक्षले चासो देखाएनन्

गोदावरी । ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले अख्तियारी दुरुपयोग गरेर कीर्ते काण्ड मच्चाउने वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेलाई कारबाही गर्न चासो देखाएका छैनन् ।

तत्कालीन माओवादीबाट निर्वाचित भएका अध्यक्ष सिंतानले माओवादीबाटै निर्वाचित भएका वडाध्यक्ष घिमिरेलाई राजनीति संरक्षण दिएर बचाएको आरोप स्थानीयको छ । कीर्तेकाण्ड मच्चाउने वडाध्यक्ष घिमिरेविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियारले पनि छानविन र कारबाही प्रक्रिया अगाडि बढाउन ढिलाइ गरेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।

वडा नम्बर २ का वडाध्यक्ष घिमिरेले वडा नं. ३ को १३ रोपनी जमीन खरिद विक्रीका लागि सिफारिस दिएका थिए । अधिकारको दुरुपयोग गरेर घिमिरेले दिएको सिफारिसका आधारमा ललितपुरको मालपोत कार्यालय, गोटीखेलले जग्गा पास गरिदिएको थियो ।

क्षेत्राधिकार मिचेर वडा नं. २ का वडाध्यक्ष घिमिरेले वडा नं. ३ को दल्चोकीको कित्ता नम्बर ४७, ४८ र ९ ‘ग’को १३ रोपनी जग्गाको घरबाटो सिफारिस दिएका थिए ।

वडाध्यक्ष घिमिरेले आफूले वडा नम्बर ३ को जग्गाको सिफारिस दिएको यसअघिनै स्वीकार गरिसकेका छन् ।

वडाध्यक्ष घिमिरेलाई जग्गा दलालसँग मोटो रकम लिएर सिफारिस दिएको आरोप लाग्दै आएको छ । वडाध्यक्ष घिमिरेले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

कागज पत्र अध्ययन नै नगरी मिलोमतोमा मालपोत कार्यालय गोटीखेलका प्रमुख सुवर्ण बज्राचार्यले जग्गा पास गरेको वडा नं. ३ का वडाध्यक्ष तिलक बोम्जोनले यसअघिनै बताइसकेका छन् ।

वडा नं. ३ का वडाध्यक्ष बोम्जनले आफ्नो वडाभित्र पर्ने दलचोकीको जग्गा वडा नं. २ का वडाध्यक्ष घिमिरेले सिफारिस दिएर अख्यिारको दुरुपयोग गरेको बताएका छन् ।

जग्गा दलाल कृष्ण घिमिरेले वडाध्यक्ष घिमिरेसँग सिफारिस लगेर १३ रोपनी जग्गा बिक्री गरेका थिए ।

यो विषयमा वडाध्यक्ष बोम्जनले गाउँपालिकका अध्यक्ष सिंतानसँग पनि कुरा गरेका छन् । वडाध्यक्ष घिमिरेलाई कारबाहीको माग गरेर बोम्जनले गाउँपालिकाका अध्यक्ष सिंतानका साथै विभिन्न निकायमा उजुरी दिएका छन् । वडाध्यक्ष घिमिरेलाई कुनै कारबाही भएको छैन ।

कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले पनि अख्तियारी दुरुपयोग गर्ने वडाध्यक्ष घिमिरेलाई कारबाही गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप छ ।

रिजालले एक महिना अगाडि १३ रोपनी जग्गाको सिफारिस दिने वडाध्यक्ष घिमिरेका विषयमा अध्ययन र छानविन गर्ने बताएका थिए । तर, कुनै कारबाही भएको छैन ।

वडा नं. २ बाट निर्वाचित घिमिरे तत्कालीन माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घिमिरेलाई बचाउन गाउँपालिकाका अध्यक्ष सिंतान लागेको आरोप छ ।

तर, सिंतानले घिमिरेलाई आफूले नबचाएको प्रतिक्रियादिएका छन् । उनले घिमिरेललाई कारबाही गर्ने विषयमा उजुरीनै नआएको दाबी गरेका छन् ।

वडाध्यक्ष घिमिरेललाई कारबाही भए पनि गाउँपालिकाको परिषद बैठकले गर्ने अध्यक्ष सिंतानले बताएका छन् । उनले गाउँपालिकामा उजुरी दिएर कारबाही गराउनुको साटो वडा नं. ३ का वडाध्यक्ष बोम्जन अख्तियार र सञ्चारमाध्यममा गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘गाउँपालिकामा उजुरी नदिने, मिडियामा जाने, अख्तियारमा उजुरी हाल्ने’, सिंतानले भने, ‘मभन्दा माथि उजुरी हालेपछि माथिबाट के हुन्छ त्यसपछि गरौँला ।’

तपाईले वडाध्यक्ष घिमिरेलाई बचाउनु भएको हो भनेर सोधिएको जिज्ञासामा सिंतानले आरोप अस्वीकार गरे । (दैनिक नेपाल डटकमबाट साभार)

Published : Saturday, 2021 March 6, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया