भैँसेपाटीमा कम्युनिस्टहरूको ‘तमासा’, लडेर वामदेवको आँखामा चोट लाग्यो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली अचानक राष्ट्रिय सभाका सांसद वामदेव गौतमलाई भेट्न भैँसेपाटी गएका छन् ।

शुक्रबार राति ओली ललितपुरको भैँसेपाटीस्थित गौतमको निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन गौतमसँग आग्रह गरेका छन् ।

ओलीको अनुरोधमा गौतमले कुनै जवाफ दिएका छैनन् । गौतमले ओलीलाई हाँसेर टारेका छन् ।

गौतम लडेर घाइते भएको थाहा पाएपछि ओलीसहितका नेकपाका नेताहरू स्वास्थ्य अवस्था बुझ्न भैँसेपाटी गएको नेकपाका नेता सुवासचन्द्र नेम्वाङले पत्रकारहरूलाई बताएका छन् ।

गौतमलाई भेट्न प्रधानमन्त्री ओलीसँग स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिलला सल्लाहकार डा.राजन भट्टराईलगायतका नेताहरू भैँसेपाटी पुगेका थिए ।

गौतमलाई आफ्नै घरमा लडेर आँखामाथि चोट लागेको छ । चोट लागेको ठाउँमा गौतमले ह्याण्डिप्लस लगाएका छन् ।

प्रधानमन्त्री ओली र गौतमबीच व्यक्तिगत कुराकानी भएको थियो । गौतम कुनै समूहमा लागेका छैनन् ।

ओलीले आफ्ना समूहका सांसदको बैठक शनिबार बालुवाटारमा बोलाएका छन् । गौतम राष्ट्रिय सभाका सांसद हुन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधि सभाकी सांसद हुन् ।

शुक्रबार प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

प्रचण्ड–माधव समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ ।

नेकपामा प्रतिनिधि सभामा १ सय ७२ (१ जना सभामुख र निधन भएको समेत गरि १ सय ७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सांसद छन् ।

Published : Friday, 2021 March 5, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया