ओलीका ‘सुकुम्बासी मन्त्री’लाई आफ्नै गृहजिल्लामा जनताले भक्कुरेर लखेटे, दुई मन्त्रीको यसरी ज्यान बच्यो

बुटवल । कम्युनिस्ट सरकारका अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेर लखेटेका छन् ।

पौडेलले शुक्रबार ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

अर्थमन्त्री पौडेलले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेर लखेटेका थिए । उनले दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोक्ने प्रयास गरेको थियो ।

प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए ।

मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताएका छन् ।

सरकारले स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएकाले औद्योगिक क्षेत्र बन्न नदिने प्रदर्शनकारीले बताएका छन् ।

औद्योगिक क्षेत्र निर्माणका लागि करीव १२ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । परियोजनामा विदेशी लगानी वा अनुदान वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत स्रोत जुटाउने भनिएपनि खर्चको स्रोत सुनिश्चित भइसकेको छैन । यो औद्योगिक क्षेत्र पाँच वर्षमा तयार पार्ने सरकारको दाबी छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले स्थानीयको विरोधले औद्योगिक क्षेत्र निर्माणको काम नरोकिने बताएका छन् ।

बस्नेतले स्थानीयले विरोध गरिरहे उनीहरूले जग्गाको लालपूर्जासमेत नपाउने चेतावनी दिएका छन् । कार्यक्रम बिथोलिएपछि बोल्न नपाएका अर्थमन्त्री पौडेलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरेका छन् । उनले पर्दा पछाडिबाट औद्योगिक क्षेत्र निर्माणको विरोध भइरहेको बताए ।

पौडेलले आफ्नो परिचयका साथ पर्दा उघारेर सडकमा आएर विरोध गर्न चुनौती दिएका छन् ।

यसैबीच, नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अर्थमन्त्री पौडेलले आफ्नो चुनावी बाचा विपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध गरेका छन् ।

भुसालले प्रतिनिधिसभामा यसै क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको बताए ।

शुक्रबार स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भुसालले बताएका छन् ।

स्थानीय चर्को विरोधका बाबजुद अर्थमन्त्री एवं रुपन्देही २ का सांसद पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्याश गरेका थिए ।

रुपन्देही ३ का सांसद भुसालले भने स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको बताए ।

करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्याश गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए ।

‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि.का अधिकारीहरूसँग भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरूले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुने नै छ’, पूर्वमन्त्री भुसालले भनेका छन् ।

अर्थमन्त्री पौडेललाई बालुवाटारको ललितानिवासको सरकारी जग्गा कीर्ते गरेको आरोप छ । बालुवाटारको जमीन छोराको नाममा किनेर विवाद भएपछि केही महिना अगाडि सरकारलाई फिर्ता गरेका थिए । अर्थमन्त्री पौडेललाई ‘सुकुम्बासी मन्त्री’ भनेर आलोचकहरूले आलोचना गर्ने गरेका छन् ।

Published : Friday, 2021 March 5, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया