प्रधानमन्त्रीको कुर्सी हल्लिने गरेर कांग्रेस मैदानमा, अचानक ओलीले रोके कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।

सभापति शेरबहादुर देउवाले ओलीको हर्कतविरुद्ध आफूलाई कडा रुपमा देखाएका छन् । देउवाले अविश्वासको प्रस्ताव र संसद बैठकका विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको बैठकनै बोलाएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बोलाएका छन् ।

कुरा मिल्यो भने कांग्रेस र प्रचण्ड–माधव समूहले आजै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको एक नेताले बताएका छन् । शुक्रबार तयारी पुगेन भने आइतबार अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने जनाइएको छ ।

सरकारमा जाने वा नजानेबार कांग्रेसले निर्णय गरिसकेको छैन । देउवा सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा नजाने अडानमा छन् ।

उता, प्रधानमन्त्री ओलीले झापाको भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।

अविश्वासको प्रस्ताव र विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमति लगायतका विषयले ओली व्यस्त भएपछि झापाको कार्यक्रम स्थगित गरेका हुन् ।

प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जलि सभा गर्ने कार्यतालिका थियो ।

२०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।

Published : Friday, 2021 March 5, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया