कांग्रेसलाई यसरी कमजोर बनाउँदै छन् पौडेल, बुढानिलकण्ठबाट रिसले चुर हुँदै बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारभित्रको नेकपाको विवाद लगायतका विषयमा छलफल गरेको छ ।

काठमाडौंको बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी र केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा संसद बैठक र सरकारको विवादका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सभापति देउवाले नेकपाको दुबै समूहबाट प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न प्रस्ताव आएको जानकारी गराएका छन् । तर, वरिष्ठ नेता पौडेलले जनताले कांग्रेसलाई पाँच वर्षका लागि सरकारमा नगई प्रतिपक्षमा बस्न भनेकाले सरकारमा जान नहुने धारणा राखेका थिए ।

पौडेलले नेकपा विभाजन नभएको भन्दै सरकारमा जान हतार गर्न नहुने समेत बताएको एक नेताले उल्लेख गरेका छन् ।

बैठकमा ढिला आएका पौडेलले धारणा राखेर बैठक नसकिँदै बाहिरिएका थिए । बैठकबाट बाहिरिने क्रममा नेता पौडेल रिसले कालोनिलो भएका थिए ।

पौडेलले कांग्रेसलाई प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने अफर आएपनि सरकारमा जान नहुने धारणा राख्दै आएका छन् ।

कम्युनिस्टहरू व्यक्तिगत स्वार्थमा लागेर झण्डै दुईतिहाइको बहुमत पाउँदा समेत सरकार चलाउन असक्षम भएका छन् । खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले कांग्रेसलाई मिलेर सरकार चलाउन र सरकारको नेतृत्व लिन भेटेरै पटक–पटक प्रस्ताव गरिसकेका छन् ।

देउवालाई १४औँ महाधिवेशनमा कमजोर बनाउने बहानमा पौडेल समूहले सरकारमा जानबाट रोकेर कांग्रेसलाई कमजोर बनाएको आरोप छ ।

देउवा प्रधानमन्त्री बने भने १४औँ महाधिवेशनमा झन् बलियो हुनेभन्दै पौडेल समूह कांग्रेस र देउवालाई सरकारमा जान रोक्ने प्रयासमा छ ।

सभापति देउवाले समग्र विषयमा छलफल गर्न बैठक बोलाएका थिए । कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । त्यसको तयारी स्वरुप पनि अनौपचारिक छलफल भएको छ ।

कांग्रेसले सरकारमा सहभागिताका बारेमा अन्तिम समयमा उपयुक्त निर्णय गर्ने जनाएको छ । सभापति देउवा निकटका नेताहरूले नेतृत्व पाएमा सरकारमा जान सकिने बताउँदै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सरकारको नेतृत्व नलिएर कम्युनिस्टहरूलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आएका छन् ।

बैठकमा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनका विषयमा पनि छलफल भएको छ ।

कांग्रेस निकटका पत्रकारहरूको तर्फबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूमा क–कसलाई टिकट दिनेभन्नेबारेमा अझै टुंगो लागेको छैन । महासंघको अध्यक्षका लागि आधा दर्जन पत्रकारहरूको दाबी छ ।

कांग्रेस निकटका पत्रकारहरू निर्वाचनमा कम्युनिस्टसँग मिलेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेबारेमा पनि छलफलमा छन् ।

Published : Thursday, 2021 March 4, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया