पार्टी सभापतिमा भिड्ने पौडेलको घोषणा, गगन पनि ‘ब्याक’ नहुने

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनमा आफूहरूको समूहबाट एकजना मात्रै सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

भरतपुरमा बिहीबार आयोजित कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा आफ्नो समूहबाट एकजना मात्रै उम्मेदवार बन्ने बताएका हुन् । पौडेल समूहबाट सभापति पदका लागि धेरै जना आकांक्षी रहेका छन् ।

‘अन्तिममा सबै मिल्ने हो । मैले नि छोड्न सक्छु’, उनले भने, ‘अरूले नि छोड्न सक्छन् । अन्तिममा एउटा उम्मेदवार हुन्छ ।’

पौडेलले को–को मिलेर लड्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् । नेता पौडेलले क्रियाशील सदस्यताको काम सकिएपछि जेठको अन्तिममा वडाको अधिवेशन सुरू हुने दाबी गरेका छन् ।
‘त्यसपछि त एक महिनामा सबै सकिन्छ,’ उनले भनेका छन् ।

१४औँ महाधिवेशनमा पौडेलले सभापतिमा उम्मेदवार बन्ने संकेत गरिसकेका छन् ।

सभापतिमा युवा नेता गगन थापाले पनि घोषणा गरिसकेका छन् । डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइरालाले पनि सभापतिमा उम्मेदवार बन्ने बताइसकेका छन् ।

सभापति शेरबहादुर देउवाले पनि सभापतिमा दोहोरिने संकेत गरिसकेका छन् ।

Published : Thursday, 2021 March 4, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया