कम्युनिस्टले औकात देखाएपछि कांग्रेस दिक्क, बानेश्वरमा बोलायो सांसदहरूलाई

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गरेर फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठक नयाँबानेश्वरस्थित संसदमा बस्नेछ ।

संसदको बैठक फागुन २३ गते आह्वान भएको छ । संसद बैठक चल्नु अगाडि कांग्रेसले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माघ ५ गते संसद भङ्ग गरिदिएकी थिइन् ।

सर्वोच्च अदालतले संसद भङ्ग गर्ने ओली र भण्डारीको निर्णयलाई खारेज गरिदिएको थियो ।

नेकपाका नेताहरू दुई समूहमा विभाजित छन् । ओलीले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले आफूहरूले नेतृत्व गरेको नेकपा आधिकारिक रहेको दाबी गर्ने गरेका छन् ।

नेकपा फुटे पनि कानूनी रुपमा विभाजन भएको छैन । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भनेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन भएपछि मात्रै कसलाई साथ दिने भनेर ओली र प्रचण्ड–माधव समूहलाई जवाफ दिइसकेको छ ।

संसद बैठक चल्ने भएपछि प्रमुख सचेतक खाणले सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएका छन् । कुनै पनि बेला महत्वपूर्ण निर्णय गर्नुपर्ने भन्दै कांग्रेसले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यकाभित्र बस्न आदेश दिएको छ ।

नेकपाभित्रको आन्तरिक विवाद र द्वन्द्वले मुलुकमा राजनीतिक अस्थिरता भएको भन्दै कांग्रेसले कम्युनिस्टहरूको आलोचना गर्दै आएको छ ।

कम्युनिस्टका ठूला नेताहरूको हर्कतबाट कांग्रेस दिक्क भएको छ । कांग्रेसले कम्युनिस्टहरूलाई इमान्दारिताका साथ मुलुक चलाउन दवाव दिँदै आएको छ ।

Published : Wednesday, 2021 March 3, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया