मिष्ठान्न भोजन गराउने प्रचण्डका खास मान्छे ओलीले लगे, खुमलटारमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै घरमा मर्सी चामलसहितको विभिन्न मिष्ठान्न भोजन गराएर तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका दुर्गा प्रसाइँले ‘क्याम्प’ परिवर्तन गरेका छन् ।

मेडिकल माफियाको आरोप खेप्दै आएका प्रसाइँले प्रचण्डको साथ छोडेको संकेत गरेका छन् । उनले मंगलबार झापामा आयोजित एउटा कार्यक्रममा ओलीको प्रशंसा गर्दै प्रचण्डको आलोचना गरेका छन् ।

झापाको दमकस्थित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका प्रसाइँले प्रचण्डले नेपाली जनतालाई धोका दिएको आरोप समेत लगाएका छन् । उनले नेकपा जुटाउने अभियानमा आफ्नो भूमिका पनि रहेको बताएका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रसाइँले भने, ‘प्रचण्डजी केपी ओलीसँग मिल्नुहोस् । यसको विकल्प छैन । तपाईं ओलीसँग मिल्नु भएन भने कम्युनिष्ट आन्दोलन सकिनेछ ।’

प्रधानमन्त्री ओलीलाई फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी कम्युनिष्ट नेता भन्दै प्रसाइँले प्रचण्डलाई ओलीसँग निःसर्त सहकार्य गर्न सुझाव दिएका छन् ।

प्रसाइँले नेपालमा दुईतिहाइको कम्युनिष्ट सरकार ओलीकै कारणले बनेको दाबी गरेका छन् । ‘गणतन्त्रमा तपाईले नै प्रमुख भूमिका खेलेको हो । त्यसैले, तपाईंहरू दुई मिल्नुको कुनै विकल्प छैन’, प्रसाइँले भने, ‘तपाईंहरूको मिलन भयो भने नेपाली जनताको विकास र समृद्धिको उद्देश्यलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’

प्रचण्डप्रति बफादार र निकट रहेका प्रसाइँले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताका कारण पार्टी फुटेको बताएका छन् । उनले ‘काजी’हरूको चंगुलबाट प्रचण्ड बाहिरिनुपर्ने बताएका छन् ।

प्रसाइँले भने, ‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सा’पहरूको पछि लाग्नुहुन्छ भने ती काजीहरूले तपाईं (प्रचण्ड)लाई जनताको मन मस्तिष्कमा होइन, माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउनेछन् विचार गर्नुहोस् ।’

प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको लिगेसीमा काजी सा’पहरूले राज्य सत्ताको दुरुपयोग गरेकाले नेपाली जनताहरूले नरूचाएका बताउँदै प्रसाइँले चेतावनीस्वरुप प्रचण्डलाई विचार गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘राजनीतिमा कुनै विचार नभएका काजी सा’पहरू तपाईंका नजिक हुँदा हामीजस्ता लाखौं शुभचिन्तकहरू तपाईंबाट आउट हुन बाध्य भयौं ।’

उनले भनेका छन्, ‘अहिले पाखा लागेका छौं। म फेरि पनि भन्छु । म जस्ता तपाईंका लाखौं शुभचिन्तकहरूको प्रतिनिधिमूलक आवाज पनि हो यो । तपाईंले कति विचार गर्नुभएको छ । मलाई थाहा छैन । परिस्थिति यस्तो भएको छ ।’

प्रसाइँले पार्टीमा काजी सा’पहरू ‘इन’ हुँदा बाबुराम, मोहन वैद्यहरू ‘आउट’ भएको स्मरण गराएका छन् ।

‘पार्टीमा काजी सा’पहरू तपाईंसँग इन्ट्री हुँदा बाबुरामहरू आउट भएका छन्’, उनले भने, ‘पार्टीमा काजीहरू इन भएपछि जीवनभर तपाईंका राजनीतिक गुरु मोहन वैद्यहरू पनि यतिबेला आउट भएका छन् ।’

उनले भनेका छन्, ‘पार्टीमा सिन्को योगदान नभएका काजीहरूको हालीमुहाली भएपछि तपाईंलाई सहायक कमाण्डर भएर साथ दिने बादल, टोपबहादुर, प्रभु साह, मणि थापाहरू आउट भएका छन् ।’

प्रचण्ड निकट मानिएका प्रसाइँले ओलीलाई साथ दिएपछि नेकपाभित्र हलचल भएको छ । खुमलटारमा पनि प्रसाइँले ओलीलाई साथ दिएको भन्दै सन्नाटा छाएको छ । प्रचण्ड झापामा जाँदा प्रसाइँकै मेडिकल कलेजको गेष्ट हाउसमा बस्ने गरेका छन् ।

Published : Tuesday, 2021 March 2, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया