महिलाको सारी र पिँडौला ताक्ने कम्युनिस्ट नेतालाई कठालो समातेर अदालत लैजाने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तको तल्लेस्तरको अभिव्यक्तिले सांसद कोमल ओलीको चित्त दुःखेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवम् राष्ट्रिय सभाकी सांसद ओलीबारे गरेको टिप्पणीको विरोध भएको छ । पूर्वमन्त्री समेत रहेका पन्त विवादमा परेका छन् ।

नेकपाका नेता पन्तले शनिबार एउटा कार्यक्रममा सांसद ओलीविरुद्ध तल्लोस्तरको अभिव्यक्ति दिएका थिए । पन्तको अभिव्यक्तिलाई महिला हिंसासँग जोडेर हेरिएको छ ।

नेकपाका नेता पन्तले आफ्नो आशय ओलीलाई चोट पुर्‍याउने नभएको बताएका छन् । ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन’, पन्तले भनेका छन्, ‘उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’

नेकपाका नेता पन्तले भनेका छन्, ‘महिलाहरू केपीतिर पनि छन्, २०औं वर्ष बिहे नगरेर यो पार्टीमा बसेका छन् । तर, तिनले टिकट पनि पाएनन्, तिनले राष्ट्रियसभा पनि पाएनन् । कोमल ओलीले यसो सारी सरक्क सर्काएर गोडा पिँडौला देखाउँदै पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् ।

कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’

सांसद ओलीले नेकपाका नेता पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । पन्तको अभिव्यक्तिले आमा दिदी बहिनीको अपमान गरेको उनले बताएकी छिन् ।

‘विवेकहीन मानिसको आलोचनाले आफैंलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’, सांसद ओलीको प्रश्न छ ।

ओलीले नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तविरुद्ध अदालत जाने चेतावनी दिएकी छिन् । पन्तविरुद्ध अदालतमा मुद्धा दर्ताका लागि कानून व्यवसायीहरूसँग परामर्शमा रहेको ओलीले बताएकी छिन् ।

नेकपाको कार्यक्रममा सहभागी हुन सांसद ओली गृहजिल्ला दाङमा छिन् । सांसद ओली सोमबार काठमाडौं आउँदै छिन् ।

Published : Sunday, 2021 February 28, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया