टुक्राटुक्रा जोडेर बन्ने सरकारले केही गर्दैन, निर्वाचनमा जाऔँः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले टुक्राटुक्रा मिलाएर बन्ने अबको सरकारले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता खतिवडाले ढिलोचाँडो नयाँ जनमतका लागि निर्वाचनमा जानै पर्ने बताए । उनले सरकार टिकाउन सांसद खरिद विक्री हुने हो कि भनेर चिन्ता समेत जनाएका छन् ।

‘दुईतिहाइको सरकारले केही गर्न सकने । फेरि टुक्राटुक्रा मिलाएर अलिकति सिएकोले केही गर्न सक्दैन’, उनले भने, ‘ढिलोचाँढो जनमतमा जानै पर्छ ।’

‘यो सरकार अविश्वासबाट फालिन्छ ? फालिदैन । विश्वासको मत लिन सक्छ वा सक्दैन ?’, उनले प्रश्न गर्दै भने, ‘फेरि पनि हामीले किनबेचको राजनीति गरेका छौँ ।’

‘पाँच जना सांसद यता तान्ने, दश जना सांसद उता लिने । कसैलाई मालदार मन्त्रालय दिने । कसैलाई सुन मन्त्रालय दिने । कसैलाई नुन मन्त्रालय दिने भनेर त्यो पद्धतिमा लाग्यौँ भने फेरि मुलुक निर्माण हुँदैन’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

‘ढिलोछिटो नयाँ जनमतमा जानुपर्छ । जनताले जसलाई रोज्छन् त्यही नै उपयुक्त पद्धति हो । हाम्रो सिद्धान्त पनि त्यही हो’, उनले भनेका छन् ।

‘हामी पनि बहकिन सक्छौँ । जसरी राजनीतिज्ञहरू बहकिन्छन् । एउटा भोटका लागि हामीलाई कहिले काहीँ कम्प्रमाइज गर्नुपर्ने हुन्छ’, खतिवडाले भने, ‘एउटा भोट बढि भयो भने केही हुँदैन । कम भयो भने सक्कि हाल्यो ।’

‘मुलुक अलिक फरक अवस्थामा छ । मुलुकलाई समृद्धितिर लैजानका लागि झण्डै दुईतिहाइ नजिकको सरकार निर्माण गर्न सफल भएका थियौँ’, उनले भने, ‘कसले हार्‍यो कसले जित्यो भन्ने होइन । म व्यक्तिगत रुपमा चुनाव हारे हुँला । हामीले लिएको सिद्धान्तले जितेको व्यवस्था छ अहिले ।’

उनले भने, ‘जनमतबाट सरकारमा पुगिन्छ । जनताको मतबाट सत्तामा जाने पद्धतिको विकास भएको छ । हामीले संविधानसभाबाट संविधान निर्माण गर्‍यौँ । अहिले अवस्था अफ्ठ्यारो छ ।’

‘दुईतिहाइ नजिकको सरकारबाट मुलुक निर्माण गर्न सकेनौँ’, उनले भनेका छन्, ‘हामी आपसमा विवादमा गएर संविधान उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गर्‍यौँ ।’

Published : Saturday, 2021 February 27, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया