सबै कार्यकर्ता कांग्रेसतिर लागेपछि दाङमा मुख्यमन्त्रीको विशाल आमसभामा ५ सय मान्छे, ओली समूहको पत्तासाफा

घोराही । खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङको बंगलाचुली गाउँपालिकामा आयोजना गरेको ‘विशाल आमसभा’मा मुस्किलले ५ सय कार्यकर्ताको उपस्थिति भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई तनाब भएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य पोखरेलले बंगलाचुलीमा शनिबार विशाल आमसभा राखेका थिए । आमसभा भनेपछि अलिक धेरै कार्यकर्ता हुनुपर्ने हुन्छ ।

पोखरेलको कथित विशाल आमभासमा मस्किलले ३ सयदेखि ५ सयको आसपासमा कार्यकर्ता आएका थिए ।

दाङ जिल्लामा ओली समूह निकै कमजोर छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहको नेकपाले दाङमा बलियो गरेर जरा गाडेको छ ।

मुख्यमन्त्री पोखरेल नेकपाको लुम्विनी प्रदेशका ईञ्चार्ज छन् । दाङ पोखरेलको गृहजिल्ला पर्छ । आफ्नो घर रहेको क्षेत्रबाट पराजित हुने डरले पोखरेल अर्को क्षेत्रमा आएर उम्मेदवार बनेका थिए ।

ओली समूहले बंगलाचुलीमा राखेको विशाल आमसभामा राष्ट्रिय सभाकी सांसद कोमल ओली, सांसद शान्ता चौधरी, केन्द्रीय सदस्य नरुलाल चौधरी, शाही सरकारका पालामा मनोनीत पूर्वमेयर एवम् निर्माण व्यवसायी बलिभद्र रानालगायतको उपस्थिति रहेको थियो ।

बंगलाचुली गाउँपालिकामा नेकपाको बलियो किल्लाको रुपमा मानिन्थ्यो । तर, नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वसांसद राजु खनालले नेकपाका सयौँ नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याएर नेकपालाई कमजोर बनाइदिएका छन् ।

कांग्रेसका युवा नेता खनालकै कारण बंगलाचुलीमा मुख्यमन्त्री पोखरेलको विशाल जनभास खल्लो हुन पुगेको छ ।

पोखरेललाई बाजागाजासहित स्वागत गरिएको थियो । विशाल आमसभामा पोखरेलको सुरक्षाका लागि आएका सुरक्षाकर्मी कार्यकर्ताहरूभन्दा धेरै रहेको भन्दै कार्यकर्ताहरू कानेखुसी गरेको चर्चा घोराहीमा छ ।

मुख्यमन्त्री पोखरेल दाङमा आफ्नै कार्यकर्ताका बीच पनि आलोकप्रिय मानिन्छन् । सोही कारण आफ्नो क्षेत्र छाडेर अरुको क्षेत्रमा आएर निर्वाचन लडेर जितेको आरोप लाग्ने गरेको छ ।

(तस्वीर पत्रकार निशानदाजु भट्टराईको वालबाट साभार)

Published : Saturday, 2021 February 27, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया