कांग्रेस सरकारमा जानेबारे गगनको नयाँ खुलासा, देशभरि कम्युनिस्ट हराएर चारतारे झण्डा गाड्ने घोषणा

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

सिन्धुली जिल्लाको चकमकेमा शनिबार नेपाली कांग्रेस तीनपाटन गाउँपालिका कार्यसमितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले निर्वाचन जितेर कांग्रेस सरकारमा जाने बताए । उनले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताए ।

नेकपा नफुटेको नेता थापाले बताएका छन् । ‘कम्युनिस्ट पार्टी फुटेपनि नफुटे पनि हामीलाई चासो छैन । जति छिटो नेकपाको विवाद टुंगो लाग्छ त्यति नै छिटो कांग्रेसले निर्णय लिन्छ’, उनले भने, ‘नेकपाको झगडामा कांग्रेसले हात हाल्दैन । दाहिने देब्रेतिर हामी लाग्दैनौँ ।’

नेकपाले घरभित्रको झगडा छिटो मिलाउनुपर्ने भन्दै थापाले तीन वर्षमा नेकपा असफल भएको बताए । उनले केपी ओलीले बुहमत पाउँदा पनि काम गर्न नसकेको बताए ।

नेता थापाले कांग्रेसलाई जनताले प्रतिपक्षको म्याण्डेट दिएको बताए । ‘नेकपाको विवाद टुंगो लाग्यो भने निकास दिन्छौँ । सरकारमा जाने हो । अब आउने निर्वाचनबाट जाने हो । शानदारबाट जाने हो’, उनले भने, ‘अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँछ ।’

कांग्रेस नेता थापाले पुस ५ गतेको घटनापछि देश निर्वाचनमा गएको बताएका छन् । उनले भने, ‘पुस ५ गतेबाट देश निर्वाचनमा गयो । ढिलोचाढो निर्वाचनमा जानेनै हो ।’

‘कांग्रेसलाई आत्तिनु पनि छैन । मात्तिनु पनि छैन’, थापाले भने, ‘कांग्रेसले देशलाई सम्हाल्नुपर्नेछ ।’

थापाले कम्युनिस्टहरूले देशमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् । ‘देशको सुध्रिएको छ । कम्युनिस्टको तमासामा सुधार भएको छैन’, उनले भनेका छन् ।

‘कम्युनिस्टले लाज पचाएका छन् । पाँच वर्षका लागि सरकार चलाउने भनेर आएका कम्युनिस्ट तीन वर्षमै असफल भएका छन्’, उनले भने, ‘कांग्रेसले देशलाई सम्हालेर निर्वाचनमा लैजान्छ । निर्वाचनमा लगेर जान्छौँ । चारतारे झण्डा गाडनुपर्छ । जित्छौँ ।’

कम्युनिस्टहरूलाई जनताले दण्ड दिनुपर्ने उनले बताएका छन् । उनले ओली सरकारलाई नकचरो शासकभन्दै जनताको करबाट उठेको राजश्वलाई कार्यकर्तामा मनपरि बाँडेर सिध्याएको बताएका छन् ।

विदेशी खुफिया एजेन्सीका प्रमुखलाई ओलीले रातारात भेटेको भन्दै थापाले प्रचण्डको हैसित पनि थाहा भएको बताए ।

उनले भने, ‘कम्युनिस्टले समस्या निकाल्न सक्छन् । समाधान दिन सक्दैनन् । यो कुरा प्रमाणित भएको छ । देशलाई सम्हाल्ने समय आएको छ । कांग्रेसले सम्हाल्छ ।’

नेता थापाले कांग्रेसले हार्छ भन्ने जान्दाजान्दै पनि निर्वाचनहरू गरेको बताएका छन् । ‘गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगलबाट शान्तिप्रक्रिया ल्याउनुभयो । सुशील कोइरालाले संविधान दिनुभयो । शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न निर्वाचन गराउनुभयो’, उनले भने, ‘कांग्रेसले हार्छुभन्दा भन्दै पनि चुनाव गरेको छ ।’

प्रधानमन्त्री पदको शपथ लिँदा ईश्वरको नाममा शपथ नलिने ओलीले धर्मको नाममा राजनीति गरेको थापाले आरोप लगाएका छन् ।

‘ओलीले कहिल्यै पनि भगवनको नाम लिनुभएन । प्रधानमन्त्री र मन्त्री हुँदा पशुपति टेक्नुभएन । जनै फाल्नुभो’, थापाले भने, ‘अहिले मन्दिरमा गएर धार्मिक आस्था देखाउँदै हुनुहुन्छ । शपथ ईश्वरका नाममा लिनुभएन । धर्म, जातको नाममा पाखण्डीपना देखाउनुभएको छ । कम्युनिस्टले समय–सययमा मानिसको भावनालाई उकासेर स्वार्थ लिन्छन् ।’

कम्युनिस्टहरूले तीन वर्षसम्म तमासा देखाएको उनले बताएका छन् । ‘कार्यकर्तालाई धोका दिए । माइतीघरमा बसेर हामी यता छौँ भने । नेकपाको बीउ नै गलत थियो’, कांग्रेस नेता थापाले भनेका छन् ।

ओली र प्रचण्डको व्यक्तिगत स्वार्थमा रातारात पार्टी एकता गरेर कार्यकर्तालाई झुक्याएको उनले बताएका छन् । ‘ओलीलाई प्रधानमन्त्री नहुने हो कि भन्ने डर थियो । प्रचण्डलाई कांग्रेससँग चितवनबाट हार्ने डरले रातारात वाम गठबन्धन गरे’, उनले भने, ‘सिंहदरबार र बालुवाटारका लागि मिलेका हुन् । एमाले र माओवादीले भुइँमा बसेर काम गर्ने कार्यकर्तालाई झुक्काए । व्यक्तिगत स्वार्थका लागि मिलेका हुन् ।’

आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, प्रकाश रसाइली, डिला संग्रौला, सिन्धुली कांग्रेसका सभापति उज्जलप्रसाद बराललगायतको उपस्थिति रहेको थियो । आमसभामा हजारौँ कांग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2021 February 27, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया