कांग्रेस बलियो बनाउन सबैले सबैलाई सम्मान गरौँ, व्यक्तिवादी नबनौँः डा.महत

छहरे । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी हुँदा कांग्रेस पार्टी कमजोर भएको बताएका छन् ।

गृहजिल्ला नुवाकोटको लिखु गाउँपालिकाको छहरे बजारमा ‘प्रथम ऐतिहाँसिक छहरे महोत्सव एवम् व्यापार मेला २०७७’को शुक्रबार उद्घाटन गर्दै डा.महतले पञ्चायतकालीन अवस्थामा जस्तो नुवाकोट कांग्रेसभित्र पार्टीलाई कमजोर बनाएर व्यक्तिहरू बलियो बन्ने हर्कत गरेको भन्दै सुध्रिन चेतावनी दिएका छन् । उनले कांग्रेसलाई कमजोर बनाउने नुवाकोट कांग्रेसका पञ्चायतकालीन प्रवृत्तिलाई नै घाटा हुने चेतावनी दिए ।

‘नेपाली कांग्रेस नुवाकोटका नेता कार्यकर्ताहरू हामी व्यक्तिवादी हुन छाड्नु पर्‍यो । आफूलाई केन्द्रविन्दुमा राख्ने । आफू भए ठीक, आफ्नै पार्टीको अर्को सदस्यको खिलाफ गर्ने, निषेध गर्ने त्यो प्रवृत्तिले कांग्रेस बलियो हुँदैन ।’

उनले भने, ‘त्यो अवस्थामा कम्युनिस्टले खेल्छ । कांग्रेसले उम्मेदवार तय गर्छ भने त्यसमा सम्पूर्ण पार्टी लाग्छ । किन भने आज हामी पार्टी व्यवस्थामा छौँ ।’

सह–महामन्त्री डा.महतले भनेका छन्, ‘हामी पञ्चायती व्यवस्थामा छैनौँ । जुन बेलामा व्यक्ति–व्यक्तिको बीचमा सीमित चुनाव हुन्थ्यो । व्यक्तिले आफ्नो पक्षमा जति मान्छे जोड्न सक्यो, उ बलियो हुन्थ्यो र जित्थ्यो ।’

‘तपाईहरूलाई थाहा छ त्यस बेला को–को नेता थिए भनेर ? मैल नाम लिइरनुपर्छ ? पर्दैन’, चेतावनी दिँदै डा.महतले भने, ‘अहिले पार्टी व्यवस्थामा छौँ । पार्टी व्यवस्थामा विचार केन्द्रविन्दुमा हुन्छ । सिद्धान्त केन्द्रविन्दुमा हुन्छ । मान्छे केन्द्रविन्दुमा हुँदैन । व्यक्ति केन्द्रविन्दुमा हुँदैन । त्यस कारण पार्टीलाई केन्द्रविन्दुमा राखौँ ।’

‘हामी सबैले सबैलाई सम्मान गरौँ । सबैले सबैको हैसियतअनुसार उनीहरूलाई सम्मान गरौँ । आ–आफ्नो हैसियतअनुसार काम गरौँ’, उनले भने, ‘त्यो भयो भने नेपाली कांग्रेसलाई नुवाकोटमा कसैले चुनौँती दिन सक्दैन ।’

‘हामीलाई हिजोका दिनमा कसैले चुनौती निद सके भने, हामी एकअर्कालाई खोइरो खन्ने क्रममा हामी त्यसमा सक्रिय हुने, जो हाम्रो विरोधी हो जो प्रतिस्पर्धी हो, जो अर्को दल हो, त्यो कुरालाई बिर्सिदा समस्याहरू आएको छ । यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ’, डा.महतले भने, ‘ज–जसले आत्मसाथ गरेका छैनन् उनीहरूलाई आजैदेखि आत्मसाथ गर्न अनुरोध गर्छु । यो नगर्ने हो भने पार्टीलाई घाटा छ । ती व्यक्तिहरूलाई पनि घाटा छ । यो स्पट कुरा हो ।’

यसैबीच, सह–महामन्त्री डा.महलते पुनःस्थापित संसदबाट पनि धेरै दिन सरकार अगाडि नबढ्ने बताएका छन् । उनले कम्युनिस्टको पिछलग्गु भएर कांग्रेस सरकारमा नजाने बताए ।

‘सर्वोच्च अदालते संसद पुनःस्थापना गरिदिएको छ । यो पुनःस्थापित संसदले पनि देश धेरै दिन चल्दैन । चल्ने छाँटकाँट मैले धेरै देखेको छैन’, उनले भनेका छन् ।

‘नेपाली कांग्रेस कसैको पिछलग्गु भएर केही मन्त्रीको लागि सरकारमा जाने वाला छैन । जानु हुँदैन’, डा.महतले भने, ‘ढिलोचाँडो देशमा निर्वाचन हुन्छ । कांग्रेसले निर्वाचनबाट जितेर शासन सत्ता चलाउन चाहन्छ । हामी जनतामा जाने अभियानमा छौँ । जनताको बीचमा जान्छौँ । पाँच वर्षको लागि बहुमतका साथ सत्तामा आउने बाटो हामी तय गर्न चाहन्छौँ ।’

कम्युनिस्टहरूप्रति आक्रामक देखिएका सह–महामन्त्री डा.महतले स्वार्थ मिल्यो भने कम्युनिस्टहरू फेरि मिल्ने बताएका छन् । स्वार्थ नमिलेकै कारण नेकपाको सकारले संसद विघटन गरेको भन्दै डा.महतले केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल मुलुकमा अस्थिरता ल्याउन जिममेवार रहेको बताए ।

‘कम्युनिस्टले आज विरोध गर्छन् । स्वार्थ मिल्यो भने भोलि आत्मालोचनाका नाममा एकठाउँमा आउँछन् । कांग्रेस उनीहरूको प्रलोभनमा पर्नेवाला छैन’, उनले भने, ‘कम्युनिस्टको प्रस्तावलाई लिएर कांग्रेसले कुनै निर्णय लिनेवाला छैन । संसदको बैठक बसोस् । त्यस बेला उनीहरू प्रस्तुत हुन्छन् त्यसलाई ध्यानमा राखेर कांग्रेसले एउटा निर्णय लिन्छ ।’

‘हामी निर्णय एउटा कम्युनिस्ट घटकको पछाडि लागेर नेपाली कांग्रेस शासन सत्तामा जानु हुँदैन । जाँदैन । यो एक वर्षमा निर्वाचन हुन सक्छ’, उनले भने, ‘अथवा डेढ वर्षमा निर्वाचन त्यसै हुनेवाला छ । निर्वाचनको मार्फतबाट जनताको जनादेशबाट देशमा लोकतान्त्रिक सत्ता स्थापित गर्नुपर्छ । त्यस बेला नेपालमा साँचोमानेमा नेपाली जनता सुखी र समृद्धि हुनेछ । कम्युनिस्ट आफ्नो समृद्धिका लागि मात्रै लागेका छन् ।’

उनले भने, ‘तीन वर्षसम्म सरकारमा बस्नेहरूले केही गर्न सकेन । ओलीको कम्युनिस्ट सरकार तीन वर्ष तीन महिना पूरा गरिसक्यो । ओलीको शासनकालमा कुरा धेरै भए काम फिटिक्कै भएन ।’

‘कुराले देश चल्दैन । सत्तामा हुँदा साधन स्रोतमाथि कसले कब्जा गर्ने भन्ने होडबाजी छ’, उनले भनेका छन् ।

‘ओली कुनै पनि हालतमा नछाडने भएपछि संसद विघटन भयो । हामी चुनावमा जाँदा फाइदा थियो’, उनले भने, ‘कानून र संविधान विरोधी भएको भएकाले कांग्रेसले विरोध गर्‍यो ।’

महोत्सवलाई सह–महामन्त्री डा.महतका साथै कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सांसद एवम् बहादुरसिंह लामा, पूर्वसांसदद्वय रामहरि खतिवडा र राजीव बिक्रम शाह, प्रदेश सांसद कल्पना नेपाली, वीना महतलगायतले सम्बोधन गरेका थिए ।

शुक्रबारदेखि शुरु भएको छहरे महोत्सव ९ दिनसम्म चल्नेछ । छहरेमा पहिलो पटक महोत्सव भएको हो । महोत्सव गर्नका लागि कांग्रेस नेता रमेश महतसहितका समाजसेवीले जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

महोत्सव अवधिमा लोक तथा दोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकारले दर्शकमाझ मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । सो अवधिमा गायक, गायिकाहरू चन्द्र शर्मा, नवराज घोरासैनी, समीक्षा अधिकारी, बद्री पंगेनी, प्रतीमा अर्याल, रविन लामिछाने, नेत्र भण्डारी, डिला बिक, टीका सानू, उद्धव कार्की, स्मृति गौतम, मीना बुढाथोकी, प्रनीष तामाङको सहभागिता रहनेछ ।

कलाकार मनोज गजुरेल, गायक सरोज लामिछाने, कुमार कट्टेल ‘जिक्री’, अर्जुन घिमिरे पाँडे, अमृता लुङ्गेली, वविता बानियाँ, रमेशराज भट्टराई, विमलराज क्षेत्री, पुर्खे बा, लोक गायक पशुपति शर्मालगायतले प्रस्तुति गर्ने आयोजकले जनाएका छन् ।

राधिका हमाल, अमृत खाती, उमा श्रेष्ठ, प्रदीप रोक्का, अमृता लामिछाने, मदन थापा, कुशल बेलवासे, सीता खपाङ्गी मगर, रेशम थापा, इन्दिरा गुरुङ, प्रिती आले, करण लामा, दिनेश लामा लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।

Published : Saturday, 2021 February 27, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया