कम्युनिस्टसँग डराएर ‘रामचन्द्र–गगन–शेखर’हरू सुइँकुच्चा ठोकेर भागे

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय गगन थापा र डा.शेखर कोइरालाहरू आफ्नै दलका सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन सक्रिय भएर लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक समस्याले सरकार कमजोर भएको छ । नेकपा अनौपचारिक रुपमा विभाजन भएको छ । नेकपाका कारण तीन वर्षमै कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आउँदै छ ।

तीन वर्षभित्रै नेकपाले सरकार चलाउन सकिन भनेर हात उठाएर कांग्रेसलाई नेतृत्वको अवसर दिँदा रामचन्द्र–गगन–शेखरहरू पिठ्यु फर्काएर भाग्ने पक्षमा देखिएका छन् । मुलुक समस्यामा परेका बेला कांग्रेसले निकास दिनुपर्ने नेताहरूको भनाइ छ ।

तर, कांग्रेस कमजोर हुन्छ, पाँच वर्षका लागि प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिएका छन् भन्न जस्ता कुतर्क गरेर ‘रामचन्द्र–गगन–शेखर’हरू देउवाविरुद्ध लागेका छन् ।

देउवालाई ओली र प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका समाचार बाहिर आएका छन् । यस्तो अवस्थामा सरकारको नेतृत्व गरेर मुलुकलाई निकास दिने बेला रामचन्द्र–गगन–शेखरहरूले छन्नभाँती कुराहरू गरेर कांग्रेसलाई सधैँका लागि सत्ताबाट बाहिर राख्न खोजेका छन् । आफू नहुने भएपछि अरुलाई किन हुन दिने भन्ने नीतिमा रामचन्द्र–गगन–शेखरहरूको रणनीति रहेको चर्चा हुन थालेको छ ।

राजनीति भनेको सधैँ सत्ताभन्दा बाहिर बस्नुपर्छ भन्ने मान्यता रामचन्द्र–गगन–शेखरहरूले अहिले देखाउन थालेका छन् । डा.कोइरालाले देउवालाई प्रधानमन्त्री बन्दैन भनेर भन्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

मोरङबाट पराजित भएका डा.कोइराला अर्को निर्वाचनमा जितेर नआउँदासम्म सरकारमा जान सक्नेछैनन् । उनले १४औँ महाधिवेशनलाई ध्यानमा राखेर आफू नेता बन्न सभापति देउवाको आलोचना गर्दै कमजोर बनाउने अभियानमा लागेको आरोप देउवा समूहको छ ।

प्रधानमन्त्रीमा १७ पटक पराजित भएका वरिष्ठ नेता पौडेल पनि देउवालाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रमा छन् । तनहुँबाट हारेका पौडेलले आफूलाई नहुने भएपछि देउवालाई सहयोग गर्ने पक्षमा छैनन् ।

सामाजिक सञ्जालमा धेरै चुरीफुरी गर्दै आएका केन्द्रीय गगन थापा पनि मन्त्री बन्नका लागि दाउ छोपे बसेका छन् । नेता कृष्णप्रसाद सिटौला समूहमा बेलाबेला अस्थिर बन्दै आएका थापाले कांग्रेस नेतृत्वमा सरकार बन्यौ भने मन्त्री पद पाउने सम्भावना निकै कम छ । सिटौला नेता थापासँग धेरै सन्तुष्ट छैनन् । सिटौला समूहलाई मन्त्री पद भागमा परिहाल्यो भने पनि उमाकान्त चौधरीलाई मन्त्री बनाउने सम्भावना छ ।

थापालाई कांग्रेसभित्र धेरै नेताहरूले रुचाउँदैनन् । गुटभित्र धोकाको राजनीति गर्ने भनेर गगनलाई आरोप लाग्दै आएको छ । सोही कारण गगनलाई अरु गुटभित्र एड्जस्ट हुन धेरै समस्या छ । विभिन्न फण्डाहरू गरेर चर्चामा आएपनि थापाका गतिविधिहरूले कांग्रेसलाई फाइदाभन्दा पनि नोक्सान भएको चर्चा हुने गरेको छ ।

मन्त्री हुने सम्भावना निकै कम भएपछि थापाले सभापति देउवालाई आलोचना गरेर नेता बन्ने प्रयास गरिरहेका छन् । कांग्रेसका कारण नेता बनेका थापाका गतिविधिहरू पार्टी विरोधी भएको भन्दै आलोचना हुन थालेको छ ।

केन्द्रीय सदस्य थापाभन्दा राम्रो भाषण गर्ने नेताहरू कांग्रेसमा धेरै छन् । ती नेताहरूको गगनको जस्तो मिडियामा पहुँच छैन । त्यही कारण गगन मिडियामा एकछत्र छाउने गरेका छन् ।

कांग्रेसले सरकारको नेतृत्व पायो भने नेतृत्व गर्नुपर्नेमा कांग्रेस सत्तामा जानै नहुने भनेर रामचन्द्र–गगन–शेखरहरूले अभियन चलाएपछि किन राजनीति गर्ने भनेर प्रश्न उठेको छ ।

देउवालाई कमजोर बनाएर सभापति र प्रधानमन्त्री बन्नबाट रोक्न रामचन्द्र–गगन–शेखरहरूले गरेको तल्लोस्तरको राजनीतिले कांग्रेसमा धेरैलाई शशंकित तुल्याएको छ । रामचन्द्र–गगन–शेखरहरूले कांग्रेसलाई बलियो बनाउन लागेका छन् वा आफू बलियो हुन लागेका हुन् भनेर प्रश्न उब्जिएको छ । रामचन्द्र–गगन–शेखरहरू कहाँबाट परिचालित छन् भनेर बेलाबेला प्रश्न पनि उठ्ने गरेको छ ।

उनीहरूलाई सभापति देउवाका साथै कम्युनिस्टहरूसँग पनि डर छ । उनीहरू कम्युनिस्टको डरका कारण कांग्रेसलाई सरकार चलाउन रोक्न चाहेका छन् ।

Published : Saturday, 2021 February 27, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया