कांग्रेस सह–महामन्त्री डा.महतको कुराले कम्युनिस्टले तोरीको फूल देखे

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभइसकेकाले कांग्रेसले अहिलेनै यो वा त्यो पक्षलाई समर्थन गर्छुभन्नु कच्चा निर्णय हुने बताएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले नेकपा अहिले पनि एक रहेकाले कांग्रेसको नियन्त्रणमा परिस्थिति नरहेको बताएका हुन् । उनले पहिला नेकपा स्पष्ट भएर आउने बताए ।

‘सभापति शेरबहादुर देउवा मात्रै होइन सबै नेताहरूले एकमतले यो गर्ने, उ गर्ने । यसको पक्षमा लाग्ने, उसको पक्षमा लाग्ने, आफ्नो नेतृत्वमा गर्ने या अर्काको नेतृत्वमा गर्ने भन्ने कुरा चाहिँ अहिले अपरिपक्व हुन्छ । त्यो बेला आएको छैन । मूलतः कम्युनिस्ट पार्टीले के गर्छ ? कसरी कम्युनिस्ट पार्टी अगाडि बढ्छ ? त्यसपछि मात्रै कांग्रेसको भूमिका हुन्छ या हुँदैन त्यो भूमिका हुने अवस्थामा के गर्नुपर्छ भन्ने कुरा त्यस बेला हामी निर्णय गर्नेछौँ ।’

उनले भने, ‘संसदको बैठक बसेपछि सरकार निर्माणमा के हुन्छ भन्ने कुरामा सबैको जिज्ञासा छ । अहिले यो स्थिति आएकै छैन । परिपक्व स्थिति बनेकै छैन । कसरी अगाडि बढ्छ कम्युनिस्ट पार्टी ? कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओलीजी हुनुहुन्छ । त्यो अवस्थामा भोलि उहाँहरूको पार्टी कसरी अगाडि बढ्छ ? एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ ? भन्ने कुरा नेपाली कांग्रेसभित्रको नियन्त्रणको कुरो होइन ।’

‘त्यो कम्युनिस्ट पार्टीभित्रको कुरा भएको हुनाले अहिले यो सत्ता समीकरण भोलिको दिनमा कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले यसो गर्छु उसो गर्छु भन्ने स्थिति अहिले आएको छैन’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘संसदको पुनःस्थापना होस् । मिटिङ होस् । परिस्थिति कसरी अगाडि बढ्छ ? जसरी परिस्थिति अगाडि बढ्छ त्यो अवस्थामा नेपाली कांग्रसले आफ्नो निर्णय लिन्छ’, डा.महतले भने, ‘अहिले नै यो गर्छु त्यो गर्छु वा योलाई समर्थन गर्छु त्यसलाई समर्थन गर्छु भन्ने अवस्था होइन । यो नै हाम्रो सर्वसम्मत छलफलको विषय हो ।’

‘त्यसमा अलग अलग मत छैन । अहिले अविश्वासको परिस्थिति नै आएको छैन । कसले अविश्वासको प्रस्ताव ल्याउँछ ? ल्याउँदैन उहाँहरूको पार्टी अहिले पनि एकै छ’, उनले भने, ‘दलको नेता अहिले पनि ओलीजी नै हुनुहुन्छ । उहाँहरूले निक्र्यौल गर्ने विषय हो । कांग्रेसले निक्र्यौल गर्ने विषय होइन ।’

‘जबसम्म उहाँहरूले निक्र्यौल गर्नु हुन्न उहाँहरूको पार्टी एकै भएर पनि जान सक्छ’, उनले भने, ‘भोलि अलग भएर कसरी जान्छ ? त्यो परिस्थित नआएसम्म कांग्रेसले हतारिएर यसो गर्छौं उसो गर्छौं । यो पक्षमा लाग्छौँ त्यो पक्षमा लाग्छौँ भन्ने कुरा अपरिपक्व हुन्छ ।’

‘अहिले कम्युनिस्ट पार्टी एउटै छ । अलग पार्टी छैन । संसदीय दल अलग छ ? अलग छैन । यसको निर्णय गर्ने काम कम्युनिस्ट पार्टीको हो’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘ओलीले संसद विघटन गर्ने विषय असंवैधानिक हो भनेर भन्यौँ । अदालतले पनि त्यही सदर ग¥यो । सक्किसकेको विषय हो’, उनले भनेका छन् ।

‘संसदको बैठक बसेपछि सरकार कसरी बन्छ ? यसैले निरन्तरता पाउँछ या पाउँदैन वा अर्को बैकल्पिक परिस्थिति निर्माण हुन्छ या हुँदैन भन्ने कुरो मूलतः कम्युनिस्ट पार्टीमा निरभर छ’, उनले भने, ‘यसको उत्तर नेपाली कांग्रेस पार्टीसँग छैन । अहिले नै यो गर्छौं त्यो गर्छौं भन्ने निष्कर्ष आएको छैन । त्यो नै हाम्रो सर्वसम्मत निर्णय हो ।’

सह–महामन्त्री डा.महतले भने, ‘सरकारको नेतृत्व गर्ने भने पनि त्यसको अहिले अर्थ छैन । अर्थ नभएको कुरोमा हामी दौडने कुरा छैन । नेताहरूका बीचमा विभिन्न कुरो हुन्छ । सरकारको नेतृत्वका लागि कुरा आउँदैमा कांग्रेसले गम्भीर रुपमा लिँदैन ।’

Published : Thursday, 2021 February 25, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया