ओलीलाई हटाइदिन आफ्नै पार्टीका शीर्ष नेताहरूले कांग्रेससँग गुहार मागे

काठमाडौं । नेपाल कम्युनिस्टका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री पदबाट हटाइदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित देउवा निवासमा बुधबार भएको भेटवार्तामा प्रचण्ड–माधवले देउवासँग ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सहयोग गर्न अनुरोध गरेका हुन् । ओलीलाई हटाएपछि मिलिजुली सरकारको नेतृत् वगर्न पनि प्रचण्ड–माधवले देउवालाई आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानूनी रुपमा विभाजन नभएकाले सो विषयमा आफूले तत्काल जवाफ दिन नसक्ने बताएका छन् ।

देउवाले प्रचण्ड–माधवलाई औपचारिक रुपमा नेकपा विभाजन भएपछि स्पष्ट जवाफ दिने भनेर फिर्ता पठाइदिएको नेपाली कांग्रेसका एक नेताले बताएका छन् ।

नेकपा औपचारिक रुपमा विभाजन भएको छैन । नेकपाका नेताहरूले नै मिलेर जाने कुराहरू गरिरहेका छन् । यस्तो अवस्थामा कांग्रेसले प्रचण्ड–माधव वा ओलीलाई साथ दिँदा कांग्रेस फस्न सक्ने चर्चा भइरहेको छ ।

संसद विगठनको निर्णय सर्वोच्च अदालतले बदर गरेको भोलिपल्टै कांग्रेस सभापति देउवालाई प्रचण्ड–माधव बुढानिलकण्ठ पुगेका थिए ।

सभापति देउवाका निजी सचिव भानु देउवाले नेकपाका नेताद्वय प्रचण्ड–माधवले पछिल्लो समसामयिक विषयमा छलफल गरेर सँगै मिलेर अगाडि बढ्न प्रस्ताव गरेको बताए ।

प्रस्तावकै रुपमा खासै त्यस्तो स्पष्ट प्रस्ताव नभएपनि नेकपाका नेताहरूले मिलेर अगाडि बढ्न राखेको प्रस्तावमा सभापति देउवाले आफ्नो पार्टीभित्र बैठक राखेर पार्टीको निर्णयानुसार जाने बताएका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्ड–माधवबीच सत्तास्वार्थमा कुरा नमिलेपछि ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

संवैधानिक इजलासले मंगलबार संसद विगठन निर्णय बदर गरिदिएपछि १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश छ । सर्वोच्चको आदेशपछि नेपालको राजनीति नयाँ मोडमा पुगेको छ ।

Published : Wednesday, 2021 February 24, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया