पूर्वआईजीपी खनाल ‘कालो’ कम्युनिस्ट बन्ने, ओलीले पठाए नयाँ ‘सांसद’को प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (पूर्वआईजीपी) सर्वेन्द्र खनालले आफू प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीसँग प्रभावित रहेको भन्दै ‘सूर्य’ चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव आएको बताएका छन् ।

हिमालय टेलिभिजनको यक्ष प्रश्न नामक कार्यक्रमको अन्तर्वार्तामा पूर्वआईजीपी खनालले आफू सूर्य चिन्हबाट उम्मेदवार बन्ने तयारीमा रहेको बताए । उनले आफू आईजीपी भएका बेला प्रधानमन्त्री ओलीसँग काम गर्न सजिलो भएको बताउँदै नेकपाबाट राजनीति गर्ने पक्षमा रहेको खुलासा गरेका हुन् ।

उनले सूर्य चिन्हबाट निर्वाचन लड्न प्रधानमन्त्री ओलीबाट प्रस्तावको रुपमा आएको खुलासा गरेका छन् ।

बारा, पर्सा वा तनहुँबाट आफूलाई चुनाव लड्न भनिएको पूर्वआईजीपी खनालले बताएका छन् । खनालले तनहुँबाट आफू निर्वाचनमा उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने समेत खुलाएका छन् । उनले भनेका छन्, ‘म अबको निर्वाचनमा उम्मेदवार बन्छु ।’

नेकपाको सदस्यता भने अहिलेसम्म नलिएको उनले बताएका छन् । अरु पार्टीभन्दा ओलीको नेकपाप्रति आफू नजिक रहेको खनालले अन्तर्वार्ताका क्रममा स्वीकार गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद उमाशंकर अडगरियाको अपहरण काण्डमा मुछिएका पूर्वआईजीपी खनालले सांसद अडगरियालाई अपहरण नगरिएको बताए ।

उनले त्यस बेलाका धेरै गोप्य कुराहरू रहेको भन्दै आफूलाई सार्वजनिक रुपमा पोलख खोल्न बाध्य नपार्न सचेत समेत गराएका छन् । सांसद अडगरियासँग सँगै गएको र आएको बताएका पूर्वआईजीपी खनालले विभिन्न ठाउँमा सँगै बसेर रक्सी खाएको सीसीटीभीका फुटेहरू रहेको बताएका छन् ।

सांसद अडगरियारले उपेन्द्र यादवको पार्टीलाई छाडेर प्रधानमन्त्री ओलीको नेकपाबाट सूर्य चिन्हबाट आफू अर्को निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको त्यस बेला भनेको खनालले खुलासा गरेका छन् ।

आईजीपी भएका बेला राष्ट्रिय खेलाडीहरूलाई म्याच फिक्सिङमा फसाएको भनेर लागेको आरोपको खण्डन गर्दै खनालले त्यस बेला सो घटना सत्य रहेको दाबी गरे । उनले आफूले खेलाडीहरूलाई कारबाहीको दायरामा ल्याएर कुनै गल्ती नगरेको बताएका छन् ।

ओली समूहतिर झुकाब राख्दै आएका पूर्वआईजीपी खनालको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेस हो । उनका दाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकार समेत थिए ।

पूर्वआईजीपी खनालको नेकपाका नेता महेश बस्नेत, सांसद किसान श्रेष्ठसँग निकटता रहेको छ ।

Published : Wednesday, 2021 February 24, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया