देउवा–प्रचण्डबीच सम्वाद, नयाँ सरकारबारे कुराकानी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वाद भएको छ ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय भएसँग दाहालले देउवासँग फोनमा कुराकनी गरेका हुन् । दाहालले देउवासँग शुभकामना अदान प्रदान र राष्ट्रिय सहमति गरेर जाने विषयमा कुराकानी भएको बताएका छन् ।

मंगलबार राति बीबीसी नेपाली सेवासँगको अन्तर्वार्ताका क्रममा नेकपाका अध्यक्ष दाहालले मुलुकलाई निकास दिन राजनीतिक सहमति गरेर जान आफूले प्रस्ताव गरेको बताएका छन् ।

कांग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालबीच बुधबार काठमाडौंमा सम्वाद गर्ने सहमति बनेको छ । ‘म आज चितवनमा छु । आजै राति वा भोलि बिहान काठमाडौं आइपुग्छु’, दाहालले भनेका छन्, ‘म र देउवाजी बीच बुधबार कुराकानी गर्ने सहमति भएको छ ।’

नेकपाका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको कुरा उठाएका छन् । उनले प्रधानमन्त्रीका विषयमा छलफल गरेर जान सकिने बताएका छन् ।

अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग पनि छलफल हुने बताएका छन् । दाहालले तत्काल ओलीसँग पार्टी एकीकरणको सम्भावना नकारेका छन् ।

संसद पुनःस्थापना भएपछि चितवनमा माधव नेपालसँग लड्डु खाएर उत्सव मनाएका दाहालले ओलीको राजीनामा पनि माग गरेका छन् । उनले संसद पुनःस्थापना भएसँगै ओलीलाई प्रधानमन्त्री पदमा बसिरहने नैतिक अधिकार नरहेको बताएका छन् ।

नेकपाका अध्यक्ष दाहालले अब राष्ट्रिय सहमतिको सरकार बनाउने कि निर्वाचनमा जाने भन्ने विषयमा खुलेर छलफल हुने बताएका छन् ।

Published : Tuesday, 2021 February 23, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया