कांग्रेस नेता थकाली भन्छन्, ‘शक्ति अस्थायी हुन्छ, सत्य सधैँ सत्यनै हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले सर्वोच्च अदालतका न्यायाधीशहरूले देश र जनताको पक्षमा एतिहासिक फैसला गरेको भन्द ‘न्यायमूर्तिहरूलाई सलाम’ भनेका छन् ।

सर्वोच्च अदालतबाट मंगलबार संसद भङ्ग गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमविरुद्ध फैसला दिएपछि कांग्रेस नेता थकालीले प्रतिक्रिया दिँदै न्यायामूर्तिहरूले देश, जनता, राष्ट्रियता र संवैधानिक सर्वोच्चताको पक्षमा फैसला गरेको बताए ।

‘संविधान, नागरिक सर्वोच्चताले जित्नु थियो । जितेको छ’, उनले भने, ‘कसैको पराजय भएको होइन । नेपाली नागरिक र संवैधानिक सर्वोच्चताको जित हो ।’

‘सर्वोच्चको फैसलाले सबै नेपालीहरू मालिक भएका छन्’, पूर्वमन्त्री थकालीले भने, ‘शक्ति अस्थायी हुन्छ । सत्य सत्यनै हुन्छ ।’

प्रधानमन्त्री ओलीप्रति लक्षित गरेर प्रतिक्रिया दिएका नेता थकालीले कम्युनिस्टहरूलाई जनताले दिएको झण्डै दुईतिहाइको बहुमत नपचेको बताएका छन् ।

संघीयतामा कम्युनिस्टहरूको बिचार शुरुदेखि नै मेल नखाएका कारण संसद भङ्ग गरेर राजनीतिक अस्थिरता ल्याउन खोजेको हो कि भनेर कांग्रेस नेता थकालीले प्रश्न गरेका छन् ।

कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने दायित्व कांग्रेसकै भएको उनले बताएका छन् ।

‘नेपाली कांग्रेसले संविधान जोगाउनु प्रथम दायित्व थियो’, थकालीले भने, ‘संसद भङ्ग भएपछि विभिन्न मत देखिए । लोकतन्त्रमा विभिन्न धारणा आउनु स्वभाविक पनि हो । यसलाई अन्यथा लिनु हुँदैन । आखिरमा संवैधानिक सर्वोच्चताको जित भएको छ ।’

कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले संसद भङ्ग भएकै दिनदेखि संसद पुनःस्थापना हुनुपर्ने संवैधानिक र कानूनी तर्कहरू राख्दै आएका थिए ।

उनले आफ्ना अन्तार्वार्ताहरूमा कांग्रेसलाई क्षणिक फाइदा भएपनि देशले हार्ने भन्दै संसद पुनःस्थापनाको पक्षमा जोडदार अभिव्यक्ति दिँदै आएका थिए । पूर्वमन्त्री थकालीले साँच्चिकै संविधान र जनताको जित भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

कांग्रेस नेता थकालीले मुलुकको राजनीतिलाई जनताले दिएको झण्डै दुईतिहाइको जनमतअनुसार अगाडि बढाउन नेकपालाई सुझाव पनि दिएका छन् ।

Published : Tuesday, 2021 February 23, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया