कांग्रेस चौवीसै घण्टा ‘हाइअलर्ट’मा छ, कम्युनिस्ट जस्तो लुरे पार्टी होइनः मोहनबहादुर बस्नेत

कोटश्वर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस चौवीसै घण्टा चुनावका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक संघले सोमबार काठमाडौंको कोटेश्वरमा आयोजना गरेको रक्तदान र खेलाडी तथा कलाकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षाका लागि कांग्रेस तयारी अवस्थामा रहेको बताए । उनले संविधानलाई रक्षा गर्न कांग्रेस चुनावका लागि तयारी अवस्थामा रहेको बताएका हुन् ।

‘नेपाली जनताको रगत पसिना बगाएर, नेपाली जनताकै छोराछोरीलाई संविधान सभामा पुर्‍याएर उनीहरूले नै निर्माण गरेको संविधानले यो देशमा राज्यसत्ता सञ्चालन गरोस् भन्ने हिसाबले सात दशकदेखि कुरेर बसेको संविधान हो’, उनले भनेका छन् ।

‘पहिलो संविधानसभामा चार वटा कम्युनिस्टका प्रधानमन्त्रीले संविधान दिन सकेनन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसको ठूलो पार्टी बनेर चुनाव जित्यो’, खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले भने, ‘कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । उहाँको सरकारले यो संविधान बनाउन सफल भयो । त्यो संविधानमा लेख्नेमा म पनि थिएँ । संविधान लेख्ने मौका पायौँ ।’

उनले चेतावनी शैलीमा भनेका छन्, ‘त्यो संविधानलाई यो वा त्यो बहानामा धरापमा पारेको छ । प्रतिनिधिसभा भङ्ग गरेको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो । अप्रजातान्त्रिक हो । यसले अराजक गतिविधि निम्ताउन सक्ने अवस्था छ ।’

‘नेपाली कांग्रेस संवैधानिक सर्वोच्चतामा विश्वास गर्ने पार्टी, कानूनी राज्यमा विश्वास गर्ने पार्टी हो’, उनले भने, ‘यो मुद्धा सर्वोच्च अदालतमा पुगिसकेको हुनाले हामी सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसको पक्षमा व्यवहारमा लागू गर्न चाहन्छौँ ।’

पूर्वमन्त्री बस्नेतले भने, ‘सर्वोच्च अदालतले चुनाव गराउँछ भने पनि नेपाली कांग्रेस जहिले पनि जनताको मतमा विश्वास गर्ने, ब्यालेट बक्समा विश्वास गर्ने पार्टी भएको हुनाले जतिखेर पनि चुनाव हुन्छ भने, चौवीसै घण्टा कांग्रेस तयार भएर बसेको पार्टी हो । हामी चुनावमा जान्छौँ ।’

‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्छ भने हामी त्यो कुरालाई पनि स्वीकार गर्छौं’, उनले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःबहाली पनि नगर्ने, चुनावमा जाने अवस्था पनि सिर्जना नगरेर गोलमालको अवस्था सिर्जना गर्‍यो भने नेपाली कांग्रेस आन्दोलनमा जानुपर्ने अवस्था हुन सक्छ । त्यस बेला युवाहरूले अग्रपंक्तिमा लड्नुपर्छ ।’

‘हिजोका दिनमा सञ्चारमाध्यमलाई समाप्त पार्ने गरि, प्रजातन्त्रको कुरा समाप्त पार्ने गरि विधेयक ल्याएर आएको होइन ? त्यो विधेयक ल्याउने बेलामा प्रचण्ड र माधव नेपालजीले अघिल्लो पटक स्वीकार गरेको अवस्था छ’, बस्नेतले भने, ‘यस्ता विधेयकमा प्रचण्ड–माधवले समर्थन जनाउने काम भएको छ ।’

‘अहिले आफूलाई अफ्ठ्यारो पर्दा । सत्ताबाट केपी ओलीले सत्ताच्युत गरिदिएपछि हामी यहाँ छौँ है भनेर अलकत्रामाथि बस्ने । सास्ती भएपछि पत्रकारहरूलाई गुहार मागेका छन्’, कांग्रेस नेता बस्नेतले भने, ‘सञ्चारकर्मीसँग गुहार मागरिरहेका छन् । आन्दोलन गर्न पनि पत्रकार चाहिने । निरंकुश शासन व्यवस्था आइलागे पत्रकार चाहिने । लड्नु परे पत्रकार चाहिने । अनि आफू पदमा पुगेपछि सञ्चारमाध्यमलाई सेन्सर लगाएर सारा चिज बन्द गर्न थाल्ने । यही होइन देशको अवस्था ?’

‘यो देशमा जुनसुकै पार्टीले, जुनसुकै तानाशाहले तानाशाही गतिविधि गरेर आफू दोस्रो हिटलर बन्न खोजे त्यो सम्भव छैन । त्यो असंभव छ’, उनले भने, ‘संवैधानिक अधिकारलाई अक्षुण राख्दै

सामाजिक गतिविधिहरू गर्दै यो देश बनाउन लागेका सबै मान्छेलाई सम्मानित गरेर भूमिका दिएर अगाडि बढ्नुपर्नेछ ।’

‘बुढापाकाको सल्लाह र सुझाव लिएर युवाहरूले अझ पसिना बगाउन जरुरत छ’, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले भनेका छन् ।

कार्यक्रममा पूर्वसांसद दीपक कुइँकेल, काठमाडौं क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, नेपाली कांग्रेस खेलकुद विभाग सचिव एवम् युवा नेता मीनकृष्ण महर्जन, कांग्रेस नेतृ प्रतिमा गौतम, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका थिए । विशेष गरेर युवाहरूले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूलाई कांग्रेस नेता बस्नेतले धन्यावाद दिएका छन् । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य राजीवजंग बस्नेतको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा खेलाडीहरू सरोज गिरी, जीवन तामाङ्, शशांक कार्की, अशोक खड्का, काजोल श्रेष्ठ, दीपेन्द्र थापा, अस्मिता जुरेली, कुमार चौलागाइँलाई सम्मान गरिएको थियो ।

कलाकारहरू रविन्द्र खड्का, शोभियत बस्नेत, ऋषिराज आचार्य, सुष्मा कार्की, सुशील पोखरेल, सुवास गौतम, पवन गिरी, शिशिर भण्डारी, दीपक आचार्य, भीमाञ्चलदरी राई, मुकुन्द थापालाई सम्मान गरिएको थियो ।

Published : Monday, 2021 February 22, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया