कम्युनिस्टका केन्द्रीय सदस्यसहित एउटा समूह चोइटिएर कांग्रेसमा प्रवेश

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्यलाई कांग्रेसमा स्वागत गरेका छन् ।

मोरङ जिल्लास्थित नेपाली कांग्रेस सुन्दरहरैंचा– ४ वडा कार्यसमितिले आइतबार आयोजना गरेको कार्यक्रममा डा.कोइरालाले विप्लवको नेकपाका केन्द्रीय सदस्य थानेश्वर दाहालसहितका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

पूर्व एमाले मोरङका सदस्य थानेश्वर भट्टराई पनि कांग्रेसमा प्रवेश गरेका छन् । डा.कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार विप्लव र पूर्वएमालेका नेता कार्यकर्ता समेत २७६ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस नेता डा.कोइरालाले संसद् पुनःस्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी ओलीले धम्की दिएको बताएका छन् ।

‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिन्ह दे भनेर धम्की दिनुभएको थियो’, उनले भने, ‘हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो ।’

डा.कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर गर्‍यो भने आन्दोलन गर्छु रे ।’

संसद् पुनःस्थापनाको विकल्प नभएको डा. कोइरालाको निष्कर्ष छ । उनले भने, ‘सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद् विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियाली रहेका छन् किनभने संसद् पुनर्स्थापनाको अर्को विकल्प नै छैन ।’

डा.कोइरालाले सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको बताए ।

डा.कोइरालाले अधिनायकवादको परिणतिको रुपमा यो निर्देशिका आएको बताएका छन् ।

Published : Sunday, 2021 February 21, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया