दाङमा कांग्रेसले क्लिन स्वीप गर्छ, मनमुटाव भए मिलाउँछौँ: नेताहरू

तुलसीपुर । दाङ कांग्रेसका नेताहरूले जनताले दिएको दुईतिहाइको बहुमतमाथि कम्युनिस्टले सांघातिक आक्रमण गरेको टिप्पणी गरेका छन् ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. १६ मा नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रम तथा नेपाल महिला संघ र नेपाल तरुण दल गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले तीन वर्षभित्र संसद भङ्ग गरेर कम्युनिस्टले जनतामाथि ठूलो अन्याय गरेको बताएका हुन् ।

निर्वाचनका बेला जनतालाई भ्रमको कुरा गरेर झुक्काएर दुईतिहाइको बहुमत पाएको नेताहरूले बताएका छन् ।

दाङ कांग्रेसका पूर्वसभापति एवम् पूर्वसांसद गेहेन्द्र गिरीले कांग्रेसलाई बलियो बनाउन आफूहरू योगदान गर्न तयार रहेको बताएका छन् । उनले कम्युनिस्टहरू असफल भएकाले देशको नेतृत्व लिन कांग्रेस तयारी अवस्थामा रहेको बताए ।

पूर्वसभापति गिरीले दाङ कांग्रेसमा नेताहरूभित्र देखिएको विवाद र मनमुटावलाई मिलाएर कम्युनिस्टलाई परास्त गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य राजु खनालले कम्युनिस्टका बीच प्रधानमन्त्रीको विषयमा झगडा भएपछि संसद भङ्ग गरेका छन् ।

उनले दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टले काम गर्न नसकेको बताए । उनले तीन वर्षमा असक्षमता देखाएको बताए ।

‘अदालतले निर्वाचनमा जान भन्यो भने निर्वाचनमा जाने हो । पुनःस्थाना भन्यो भने साढे एक वर्षपछि निर्वाचन हुन्छ । तयारी अवस्थामा बस्नुपर्छ’, खनालले भनेका छन् ।

खनालले कांग्रेसलाई एक बनाएर लैजानुपर्ने बताए । ‘हामीभित्र भएका मनमुटाव छभने मिलेर समाधान गरौँ’, उनले भने, ‘महाधिवेशन आउँदै छौँ । हामी बीचमा एकता हुनुपर्छ ।’

नेता खनालले कांग्रेसले संविधान कार्यान्वयन गरेको बताएका छन् । ‘आफू हारेर पनि कांग्रेसले निर्वाचन गरेको छ’, उनले भने, ‘संविधानको रक्षाका लागि कांग्रेस सडकमा जानुपर्ने अवस्था आएको छ ।’

नेता खनालले सुकुम्वासीका नाममा कम्युनिस्टले पैसा उठाएको आरोप लगाएका छन् । उनले फारम भर्ने बहानामा कम्युनिस्टले पैसा उठाउने काम गरेको बताए ।

‘सुकुम्वासीका नाममा जग्गा दिने भनेर कम्युनिस्टले चुनावलाई प्रभावित बनाउन षड्यन्त्र गरेका छन्’, उनले भने, ‘सुकुम्वासीलाई जग्गा दिने भनेर भ्रम फैलाउन थालेको छ । ०४६ सालको परिवर्तनपछि एमालेले चार विघा जमीन दिने भनेर जनतालाई ढाँटेको थियो । यस पटक पनि ढाँट्न लागेको छ ।’

उनले भने, ‘माओवादीले कथित जनयुद्धका बेला जमीन दिने भनेर जनतालाई युद्धमा लग्यो । अहिले सबैभन्दा ठूला घर माओवादीका नेताको छ । जनता गरिव नै छन् ।’

कम्युनिस्टहरू कमिशन र भ्रष्टाचारको डरलाग्दो अवस्था रहेको उनले बताएका छन् । ‘कम्युनिस्टले कोरोनाको नाममा अर्बौंको रकम भ्रष्टाचार गरेका छन्’, नेता खनालले भनेका छन् ।

वडा सभापति ज्ञानबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेताहरू भुपबहादुर डाँगी, लबेन्द्र धिताल, भरतबहादुर न्यौपाने, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, जानका केसी, लक्ष्मी शाह, लालबहादुर गिरी, श्रीधर देवकोटा, लगायतको उपस्थिति रहेको कांग्रेस युवा नेता गणेश बेल्वासेले जानकारी दिए ।

Published : Sunday, 2021 February 21, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया