नवलपरासीमा तरुण दलको शक्ति देखेर कम्युनिस्टहरूलाई तनाब, हजारौं उपस्थित

बर्दघाट । कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाल तरुण दल नवलपरासीले बर्दघाटमा शक्ति प्रदर्शन गरेको छ ।

शनिबार बर्दघाटमा तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कम्युनिस्टहरूले तीन वर्षमा मुलुकलाई गलत बाटोमा लगेको बताएका छन् । उनले कम्युनिस्टहरूविरुद्ध निर्वाचनबाट परास्त गरेर संविधानको रक्षा गर्नुपर्ने बताए ।

नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले सर्वोच्च अदालतको निर्णयलाई कांग्रेसले स्वीकार गर्नुपर्ने बताए । उनले संसद पुनःस्थापना भएपनि करीव साढे एक वर्षमा निर्वाचन हुने बताए । कोषाध्यक्ष गुरुङले निर्वाचनको तयारी गर्दैमा कुनै घाटा नहुने बताए ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिए पनि वा नयाँ जनादेशका लागि जान भन्दा पनि कांग्रेसलाई मान्य हुने उनले बताएका छन् । संसद विघटन सदर भयो भने निर्वाचन छ महिनाभित्र गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका कोषाध्यक्ष गुरुङले भने, ‘निर्वाचन छ महिनाभित्र गराउन तरुणहरूले दवाव दिनुपर्छ । निर्वाचन भएन भने मुठभेडमा जान सक्छ । देश र संविधानको रक्षा तरुण दलले गर्नुपर्छ ।’

केन्द्रीय सदस्य गगन थापाले चुनावबाट देशले हार्ने बताएका छन् । उनले अहिले चुनावमा गए कांग्रेसले स्वतः जित्ने भएपछि देशले हार्ने बताए ।

तरुण दल नवलपरासीका अध्यक्ष सुकबहादुर गुरुङको सभापतित्वमा भएको विरोध सभालाई कांग्रेसका नेताहरू पूर्वसांसद बिक्रम खनाल, पूर्वसांसद सन्तु कलवार, नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु पौडेललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल तरुण दल नवलपरासीका सचिव यज्ञप्रसाद पाण्डेले गरेका थिए । शनिबारनै प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रदेश १ स्तरीय जनसभा विराटनगरमा गरेका छन् । ओलीले जनसभा गर्न विभिन्न जिल्लाहरूबाट मान्छे ल्याएका थिए ।

तरुण दल नवलपरासीले जिल्लाभित्रका कार्यकर्ता उतारेको थियो । तुलनात्मक रुपमा संख्याको कुरा गर्ने हो भने तरुण दल नवलपरासीले बर्दघाटमा गरेको कार्यक्रमका सहभागीहरूको संख्या धेरै रहेको तरुण नेताहरूको दाबी छ । तरुण दल नवलपरासीका अध्यक्ष सुकबहादुर गुरुङले भने, ‘हाम्रो सभामा नवलपरासीका मात्रै हो । अरु जिल्लाबाट मान्छे ल्याएका छैनौँ ।’

ओलीको विराटनगरको जनसभामा प्रदेश १ का सबै जिल्लाबाट मान्छे उतारिएको थियो ।

Published : Saturday, 2021 February 20, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया