क्रियाशील सदस्यताबारे कांग्रेसको समितिले काम अगाडि बढायो, जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले जिम्मेवारी बाँडफाँट गर्दै क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

ललितपुरको सानेपामा शनिबार बसेको बैठकपछि जारी विज्ञप्तिमा समितिले क्रियाशील सदस्यताको सूची पठाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको हो ।

‘क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) र गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी समेत क्रियाशील सदस्यता सम्बन्धी सम्पूण विवरण केन्द्रमा बुझाउन बाँकी रहेका सबै जिल्ला कार्यसमितिहरू र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिको फागुन ६ गतेको बैठकको निर्णयानुसार, तोकिएको मितिभित्र नै सम्पूर्ण कार्य तोकिएको प्रक्रिया पुर्‍याई सम्पन्न गर्न र क्रियाशील सदस्यताको सम्पूर्ण विवरणसहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लागि समितिको तर्फबाट लिखित पत्राचारमार्फत अनुरोध गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

‘जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसंग सम्पर्क गरी क्रियाशील सदस्यता वितरण र नवीकरणका सम्बन्धमा जिल्लाहरूमा हालसम्म भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन र तोकिएको मितिभित्र तोकिए बमोजिमका सम्पूर्ण कार्य अनिवार्य सम्पन्न गर्नका लागि ध्यानाकर्षण गर्न र तत्सम्बन्धी विषयमा समितिको आगामी बैठकमा छलफलका लागि प्रस्तुत गर्नका लागि समितिका देहाय बमोजिमका सदस्यहरूलाई देहाय बमोजिमको प्रदेशहरू तोकी जिम्मेवारी प्रदान गर्ने’, समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश १ र २ को जिम्मेवारी तोकिएको छ ।

श्यामकुमार घिमिरे र प्रदीप पौडेललाई वागमती प्रदेश र गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ ।

कल्याणकुमार गुरुङ्ग र योगेन्द्र चौधरीलाई लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस तेह्रौ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव केशव रिजालले फागन ११ गते मंगलवार बिहान ११ बजे बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने जिम्मेवारी तोकिएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या समाधानका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन भएको थियो । यो समितिले आफ्नो काम अगाडि बढाएको छ ।

Published : Saturday, 2021 February 20, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया