नेतामा इमान्दारिताको खडेरी भयो, बोलेको कुरा पूरा गर्नुपर्छः कांग्रेस नेतृ प्रसाइँ

अर्जुनधारा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री सरिता प्रसाइँले इमान्दारिताको राजनीतिको खडेरी भएको भन्दै नेताहरूले बोलेपछि पु¥याउनुपर्ने बताएकी छिन् ।

शनिबार सीके चिन्तन प्रतिष्ठानले अर्जुनधारा–मा सीके प्रसाइँको २७औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा धारणा राख्ने क्रममा नेतृ प्रसाइँले सीके प्रसाइँ र कांग्रेसको बिचारमा तालमेल नभएको भनेर गुनासो गरिन् ।

‘कांग्रेसमा अहिले जे बोलिन्छ त्यो गरिँदैन । निष्ठा, इमान्दारिता र विश्वासको खडेरी छ’, उनले भनेकी छिन्, ‘सीके प्रसाइँ कहिल्यै पनि विचलित नहुने नेता हुनुहुन्थ्यो । स्पष्ट बोल्ने नेता ।’

‘नेता भनेको बोलेको कुरा पूरा गर्नुपर्छ’, उनले प्रश्न गर्दै भनेकी छिन्, ‘सीके प्रसाइँ र कांग्रेसको बिचारमा कहाँ बेमेल भयो ?’

‘म सानो थिएँ । सीके प्रसाइँ हाम्रो घरमा आउनु हुन्थ्यो’, उनले भनेकी छिन्, ‘सीके प्रसाइँसँग मैले सिक्नुपर्ने धेरै कुरा थियो । मैले धेरै सिक्न पाइन । सकिन ।’

कांग्रेस नेतृ प्रसाइँले सीके प्रसाइँले भनेको कुरा स्मरण गर्दै भनेकी छिन्, ‘उहाँले महिलालाई राजनीति गर्न धेरै अफ्ठ्यारो छ भन्नुभएको थियो । मैले हिम्मत गरेर राजनीति गरेकी हुँ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य सुधिर सिवाकोटी, जिल्ला सभापति उद्वव थापा, प्रतिष्ठानका अध्यक्ष टीका प्रसाइँ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 February 20, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया