संसद पुनःस्थापना हुँदा पनि कम्युनिस्टले सरकार चलाउन सक्दैनन्, कांग्रेस जाँदैनः डा.महत

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आउने निर्वाचनमा नेपाली कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ धनकुटाले शनिबार धनकुटाको जोरपाटी गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले गाउँ वडाहरूमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । उनले ढिलो चाँडो मुलुक निर्वाचनमा जाने बताए ।

‘हाम्रो अर्जुन दृष्टि निर्वाचन हुनुपर्छ । ढिलो चाँढो निर्वाचन हुनुपर्छ’, उनले भने, ‘पुनःस्थापना भयो भने पनि बाँकी पौने दुई वर्ष कुनै पनि सरकार चल्न सक्छ भन्नेमा कठिन छ । पुनःस्थापना भयो भने पनि पौने दुई वर्ष कुनै पनि सरकार चल्दैन ।’

उनले भने, ‘सर्वोच्चले सदर ग¥यो भने छ महिनाभित्र निर्वाचन गर्नुपर्छ । संविधानमा व्यवस्था छ । निर्वाचनको अवधि टाढा छैन । जनताको बीचमा जान जरुरी छ ।’

डा.महतले ओलीले निर्वाचन गर्नुपर्ने भन्दै ओलीले निर्वाचन नगरे कांग्रेसको सबै शक्ति खनिने बताए । निर्वाचन नगरेर ओलीले आफू खुसी चलाउँछु भनेर लाग्ने हो भने समाप्त हुने उनले चेतावनी दिए । कम्युनिस्टहरू सत्ता कब्जामा मात्रै लागेको उनले बताए ।

डा.महतले जनताको मतबाट मात्रै सरकारमा जाने भन्दै निर्वाचन गराउन दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

सह–महामन्त्री डा.महतले शिक्षकहरू गाउँका जनता, अभिभावक, विद्यार्थीसँग निकट रहेको भन्दै बचेको समयमा कांग्रेसको संगठनमा लाग्न आग्रह गरे ।

‘शिक्षक साथीहरू जनताको बीचमै हुनुहुन्छ । हरेक दिन शिक्षकहरू अभिभावक, जनता र विद्यार्थीको बीचमा छन् । तपाईहरूको भूमिका महत्वपूर्ण हुन्छ’, डा.महतले भनेका छन् ।

‘लोकतन्त्र र संविधानमा विश्वास गर्ने पार्टी भएकाले संविधानमा जे व्यवस्था छ विघटन गर्नको लागि जे सर्तहरू छन् त्यसलाई पूरा गर्नुपर्छ’, उनले भने, ‘ती सर्त पूरा नगरिकन विघटन गरिएको हुनाले हामीले असंवैधानिक र अप्रजातान्त्रिक भनेका छौँ ।’

‘पाँच वर्षका लागि निर्वाचित भएको कम्युनिस्ट सरकार तीन वर्षमा असफल भयो । हामीले यस अर्थमा खुसी मान्नुपर्छ’, उनले भने, ‘तीन वर्षैमै हात उठायो । कम्युनिस्टसँग जनता वाक्क दिक्क भए ।’

‘कांग्रेस संविधानमा विश्वास गर्ने पार्टी भएको हुनाले संविधानमा भएको व्यवस्थालाई उल्लंघन गर्दा स्वागत गर्ने, प्रतिकुल हुँदा संविधान खोज्न भएन’, उनले भने, ‘हामीले विरोध गरेर हामीले आफ्नो कर्तव्य पूरा गरेका छौँ ।’

‘संविधानलाई ट्रयाकमा ल्याउन दुइटा उपाय छन् । कि संसद पुनःस्थापनाबाट । संसद पुनःस्थापना भयो भने कम्युनिस्ट बाहुल्यता हुने हो’, डा.महतले भने, ‘कम्युनिस्टको पछाडि लागेर सत्तामा जाने कुरा छैन । कम्युनिस्ट घटकको मात्रै सरकार बनाउँछन् । त्यसमा नेपाली कांग्रेस जाँदैन ।’

‘सर्वोच्च अदालतले विघटनलाई सदर ग¥यो भने निर्वाचनबाट संसद स्थापना गर्ने हो । निर्वाचनको लागि हामी तयार हुनुपर्छ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘संसद विघटन सदर हुँदा तत्काल निर्वाचनमा जाने अवस्था आउँछ । पुनःस्थापना भयो भने अलिकति पर्खनुपर्छ’, उनले भने, ‘जाने त निर्वाचनमा हो । नेपाली जनताले चाहेको नयाँ जनादेश हो । कम्युनिस्ट पार्टीले जनतालाई झुक्याए ।’

‘केपी ओलीजीको मात्रै कुरा होइन । तीन वर्षसम्म उहाँहरूले साझा कांग्रेस र नेपाली जनताको विरुद्ध उभिनु भयो’, उनले भने, ‘संविधानको एकएक दफाहरूलाई कुल्चिदै जाँदा उहाँहरू बोल्नुभएन ।’

‘जब सत्ताको चरम दुरुपयोग भयो । ओलीजी सत्ता छोड्नै नचाहने । प्रचण्डजीहरूलाई सत्ता नभइनहुने भएपछि मात्रै विद्रोह गर्न थालेको हो’, डा.महतले भनेका छन् ।

‘त्यसभन्दा अगाडि संविधान कुल्चने, कांग्रेसका हरेक कदमलाई विरोध गर्ने, कांग्रेसका कार्यकर्तामाथि विभेदकारी क्रियाकलाप गर्ने कुरा, आक्रमण गर्ने कुरामा उहाँहरू सँगै हुनुहुन्थ्यो’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘हाम्रो विरोध भनेको समग्रमा तीन वर्षे कम्युनिस्ट कुशासनविरुद्धको विरोध हो । तीन वर्षे कुशासनमा समग्र कम्युनिस्ट नेतृत्व साथमा छ’, उनले भने ।

डा.महतले भनेका छन्, ‘अहिले पनि नेकपा भन्ने कम्युनिस्ट पार्टी एउटै छ । विभाजित भइसकेको छैन । उहाँहरूको झगडा होला, विवाद होला । तर एउटै पार्टी छ । कम्युनिस्टको एउटा शब्द छ आत्मालोचना । आत्मालोचना भनेपछि मारकाट गर्दा पनि भोलि अंकमाल गरिन्छ ।’

‘अलमल गर्ने कुरा छैन । जनतामा जाने काम गर्ने हो । वडा तहसम्म विरोध कार्यक्रम गरेको त्यही हो । तीन वर्षको बारेमा भनेको हो’, उनले भनेका छन् ।

‘पञ्चायतकालमा कम्युनिस्टले संगठन गरेको शिक्षकमार्फत हो । उनीहरूले पढाउनेभन्दा पनि संगठन गर्ने थियो’, उनले भने, ‘कम्यनिस्ट विचार पढाउनलाई कम्युनिस्टका शिक्षकहरू विद्यालयहरूमा पुगेका थिए ।’

‘राजालाई कांग्रेससँग डर थियो । राजालाई मेरो सत्तामा सबैभन्दा ठूलो बाधक कांग्रेस हुनुसक्छ भन्ने लागेको थियो । कांग्रेसले संवैधानिक राजसंस्था भनेको थियो’, उनले भने, ‘राजा संवैधानिक हुन चाहन्नथे । कम्युनिस्टबाट राजा डराएका थिएनन् । कांग्रेसविरुद्ध कम्युनिस्ट प्रयोग गरियो ।’

‘राजाले कम्युनिस्टले फाल्न सक्दैनन् । फाल्यो भने कांग्रेसले फल्ने हो भन्थे । अन्ततः प्रजातन्त्र बलियो हुँदा राजानै फालियो’, डा.महतले भनेका छन् ।

‘पञ्चायतकालमा हामी बाहिर निस्कन पाउँदैनौ थियौ । शिक्षकहरूले नै कांग्रेसको संगठन गरेका हुन् । शिक्षकको महत्व कांग्रेसले बुझेको छ । शिक्षक संघको संगठन विस्तार होस् । देशभरि’, डा.महतले भनेका छन् ।

‘कांग्रेसले जित्नुपर्छ तपाईहरूको आवश्यक्तानुसार समय दिनुपर्छ । शिक्षाको महत्व बुझेका छौँ’, सह–महामन्त्री डा.महतले भने, ‘शिक्षक सन्तुष्ट भएनन् भने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सक्दैन्न् ।’

Published : Saturday, 2021 February 20, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया