कम्युनिस्ट सरकारले तरुण अध्यक्षको हत्याराहरूलाई माफी दियो, तरुण दलद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या गर्ने तीन जना अपराधीलाई कामचलाउ कम्युनिस्ट सरकारले छाडिदिएको छ ।

कम्युनिस्ट सरकारले हत्याराहरूलाई रिहाइ गरेपछि नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार बिहान विज्ञप्ति जारी गरेर विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरेका छन् ।

पौडेलको हत्या अभियोगमा सजाय भोगीरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई खड्गप्रसाद ओली सरकारले छाडिदिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यी तीन अपराधीहरूको सजाय मिनाह हुने गरि आममाफी दिएकी हुन् ।

२०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष पौडेलको हत्या भएको थियो ।

‘शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरू फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछ’, अध्यक्ष जितजंग बस्नेतले विज्ञप्तिमार्फत भनेका छन् ।

‘जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिनप्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको छ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरूलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरूलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरू गर्न नेपाल तरुण दल केन्द्रीय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्तिमार्फत निर्देशन गर्दछ’, बस्नेतले भनेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिइएका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी नेकपा निकटका हुन् । उनीहरूले नै तरुण अध्यक्ष पौडेलको हत्या गरेका थिए ।

Published : Saturday, 2021 February 20, 6:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया