दाङको राप्ती-९ मा वडाका सबै कम्युनिस्ट कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य चौधरीद्वारा स्वागत

मसुरिया । दाङको राप्ती गाउँपालिकाको वडा नं. ९ रुपाकोटमा दुई सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्ती गाउँपालिकको रुपाकोटमा बिहीबार आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१० जनालाई पार्टीमा स्वागत गरेका हुन् ।

रुपाकोटका नेकपाका लोकप्रिय युवा नेता रमेश फुङजा मगरको नेतृत्वमा २१० जना कार्यकर्ता कांग्रेसमा प्रेश गरेका हुन् ।

कांग्रेस प्रवेश गरेका रमेशले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा तत्कालीन माओवादीबाट आफ्नै भिनाजुलाई विजयी बनाएका थिए । रमेशले वडाध्यक्ष भिनाजुलाई वडा कार्यालय राख्न भाडामा आफ्नै घरमा दिएका थिए ।

कम्युनिस्टहरूको क्रियाकलाप र हर्कतबाट दिक्क भएका युवा नेता रमेश कांग्रेसमा प्रवेश गरेपछि वडाध्यक्ष समेत रहेका भिनाजु जिल परेका छन् ।

नवप्रवेशीहरूले कम्युनिस्टहरूको औकात तीन वर्षमा देखिएको भन्दै झुठो कुरा गर्नेहरूको पछाडि नलाग्ने बताएका छन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डेले कम्युनिस्टहरूप्रति वितृष्ण पैदा भएर नेकपाका गाउँका कार्यकर्ताहरू विकासका लागि कांग्रेसमा प्रवेश गरेको बताए ।

केन्द्रीय सदस्य चौधरीले कांग्रेसले कुनै पनि कुरा झुठ नबोल्ने भन्दै गाउँको विकासका लागि इमान्दार भएर लाग्ने बताएको पाण्डेले जानकारी दिए ।

वडा नं. ९ मा ५७५ मतदाता हुन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १६० मत पाएका थिए । माओवादीका वडाध्यक्षका उम्मेदवारले करिव २ सय मत पाएका थिए ।

बिहीबार २ सय १० जना कांग्रेसमा प्रवेश गरेपछि वडाका आधाभन्दा धेरै मतदाताहरू कांग्रेसको पक्षमा देखिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य चौधरीका साथै पूर्वसांसद सुशीला चौधरी, लालमोहम्मद मियाँ, वडाध्यक्ष एवम् कांग्रेस नेता विष्णु जिसी, प्रदीपराज शर्मा, जिल्ला सदस्य हरि भुसाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 February 19, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया