संसद पुनर्स्थापनापछि कम्युनिस्टलाई समर्थन गरेर कांग्रेस सरकारमा जाँदैनः डा.महत

भोजपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संसद पुनःस्थापना भयो भने कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।

शुक्रबार भोजपुर बजारमा नेपाली कांग्रेस भोजुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसले सर्वोच्च अदालतले दिने निर्णयलाई मानेर जाने बताए । उनले ढिलोचाँढो मुलुकमा निर्वाचन हुनेभन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

‘ढिलोचाँढो देश निर्वाचनमा जाने हो । कांग्रेस चुनावको लागि तयार छ’, उनले भने, ‘संसद पुनःस्थापना भयो भने पनि कम्युनितलाई समर्थन गरेर कांग्रेस सरकारमा जाँदैन । चुनाव भयो भने भइहाल्यो ।’ उनले संसद पुनःस्थाना भयो भने पनि साढे एक वर्षमा निर्वाचन हुने बताए ।
कांग्रेस नेता डा.महतले सर्वोच्च अदालतबाट संसद विघटनको निर्णयलाई सदर गर्‍यो भने असारभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।’

‘कांग्रेस तयार रहनुपर्छ । चुनाव अहिले भयो भने जानुपर्छ’, सह–महामन्त्री डा.महतले ‘निर्वाचनलाई केन्द्रित बनाएर आन्दोलनको विकेन्द्रित कार्यक्रम गरेका हौँ ।’

‘कांग्रेसको विरोधका कार्यक्रम बिकेन्द्रित हुन्छ’, डा.महतले भने, ‘प्रचण्ड–माधव समूहले काठमाडौंमा खर्च दिएर मान्छे उतोरेका छन् ।’

उनले कांग्रेसले ६ हजार वडामा कार्यक्रम गरेको बताए । उनले भने, ‘कांग्रेसको आन्दोलनको कार्यक्रममा कम्युनिस्टको भन्दा राम्रो उपस्थिति रहेको छ । कांग्रेसको आन्दोलनमा स्वस्फुर्त उपस्थिति भएको छ ।’

‘कांग्रेसले कम्युनिस्टको बेइमानी कुरालाई वडा–वडामा बुझाएका हौँ’, उनले भने, ‘कम्युनिस्टले ठूला भ्रष्टाचार गरेका छन् । लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने काम भएको छ । वडा तहसम्म कार्यक्रम राखेर कम्युनिस्टको भण्डाफोर गरेका हौँ । चुनावको तयारी गरेका हौँ ।’

‘अर्बभन्दा तल कम्युनिस्टलाई भ्रष्टाचार गर्न आँखा लाग्दैन’, डा.महतले भने, ‘यस्तो भ्रष्टाचार निर्वाचित सरकारका बेला कहिल्यै भएको थिएन ।’

अभिव्यक्ति स्वतन्त्र रहने भने राष्ट्रियता कमजोर रहने बताएका डा.महतले भने, ‘राष्ट्रियता बलियो हुन प्रजातन्त्र बलियो हुनुपर्छ ।’

‘कम्युनिस्टका कारण देश अत्यन्तै कमजोर भएको छ । कम्युनिस्टहरू चीन र भारतसँग सीमाको बारेमा एक शब्द बोल्दैनन्’, उनले भने, ‘जनतातिर फर्केर राष्ट्रियताको कुरा गरेर केही हुँदैन । बोल्नुपर्ने ठाउँमा एक शब्द नबोल्ने गफाडी मान्छेहरू हुन् कम्युनिस्ट ।’

केपी ओलीले प्रचण्ड र माधव नेपलाई सत्ता र भागबण्डा नदिएपछि नेकपाले संसद विघटन गरेको उनले बताए । संसद विघटन गर्ने विषयमा ओली–प्रचण्ड र माधव नेपालको बराबरी दोष रहेको सह–महामन्त्री डा.महतले बताएका छन् ।

‘ओलीले सत्ता नछाड्ने । प्रचण्ड–माधवलाई सत्ता नभइ नहुने भयो । झगडा भयो । संसद विघटन भयो’, उनले भने, ‘यो संविधानमा संसद विघटन गर्ने अधिकार छैन । प्रावधान छैन ।’

उनले भने, ‘ओलीले थप सर्तहरू पूरा नगरेर संसद विघटन गरेपछि कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर सर्वसम्मत निर्णय गरेर विरोध जनाएको छ ।’

संसद विघटनको विरोधमा मात्रै कांग्रेस नरहेको बताएका डा.महतले भने, ‘कांग्रेसले कम्युनिस्टको तीन वर्षको सर्वसत्तावादको पनि विरोध गरेको छ । भ्रष्टाचार, सर्वसत्तावाद, ओम्नी काण्डसहित संसद विघटनविरुद्ध आन्दोलन चलाएका छौँ । कम्युनिस्ट कुशासनको विरोधमा छौँ ।’

प्रचण्ड–माधवको एजेण्डा संसद विघटनको मात्रै रहेको बताएका डा.महतले भने, ‘प्रचण्ड–माधवजीहरूलाई तीन वर्षको कुशासनको विरोध गर्न समस्या छ ।’ संविधान उल्लंघनदेखि भ्रष्टाचार, कुशासन, कम्युनिस्ट सर्वसत्तावादमा प्रचण्ड–माधवहरू ओलीसँग रहेकाले कांग्रेसले जस्तो सरकारको तीन वर्षे कार्यकालको विरोधमा प्रचण्ड–माधव नरहेको बताए ।

सह–महामन्त्री डा.महतले चुनाव भयो भने भोजपुरमा कांग्रेसले दुईतिहाइले जित्नुपर्ने बताए । उनले भोजपुर कांग्रेसमय बनेको भन्दै निर्वाचनबाट कम्युनिस्टको पतन शुरुवात हुने चेतावनी दिएका छन् ।

डा.महतले सरकारमा कांग्रेस जनताबाट अनुमोदन भएर मात्रै जाने बताएका छन् । ‘कसैले हातमा ल्याएर दियो भने पनि कांग्रेस सरकारमा जाँदैन’, उनले भने, ‘कांग्रेसले जनताको मतमा विश्वास गर्छ ।’

उनले कांग्रेसले संविधान बनाएको बताए । ‘कम्युनिस्टले संविधान बनाउन सकेनन् । संविधान कांग्रेसले बनायो । संविधान कार्यान्वयन गर्न चुनाव गरायो’, डा.महतले भने, ‘निर्वाचनमा कम्युनिस्टले जिते । कम्युनिस्टले नभएको कुरा गर्छन् । जनतालाई भ्रममा पार्छन । कांग्रेसले काम गर्छ । काम गरेर मात्रै पुग्ने रहेनछ । गरेपछि काम हामीले गरेका हौँ भनेर भनेको भनै गर्नुपर्दो रहेछ ।’ उनले भने, ‘कांग्रेसले आफूले गरेका कुराहरू नभन्दा कम्युनिस्टले गफ पिटेर जितेका छन् ।’

‘०४६ सालपछि कांग्रेसले जनताका आर्थिक वृद्धिदर दुई प्रतिशतबाट सात प्रतिशत बनायो । सडक, बाटोघाटो, विद्यालय, खानेपानी, टेलिफोन, विजुली, स्वास्थ्य चौकीको अवधारणा कांग्रेसले ल्याएको हो ।’

‘माओवादी आयो । आतंक मच्चाएर कांग्रेसले गर्न लागेको कामलाई अवरुद्ध ग¥यो’, उनले भने, ‘कांग्रेसले माओवादीलाई जंगलबाट शान्ति प्रक्रियामा ल्याएको छ ।’

विश्वबाट पतन भएको कम्युनिस्ट नेपालमा मात्रै झण्डै दुईतिहाइ मतले जितेको भन्दै डा.महतले आश्चर्य व्यक्त गरेका छन् । उनले भने, ‘संसादमा दुई सयभन्दा बढी देश छन् । ९० प्रतिशत देशमा निर्वाचनबाट सरकार बन्छ । कतै पनि कम्युनिस्टले जित्दैन । तर, नेपालमा जितिराखेका छन् । अरु देशका जनताले कम्युनिस्टलाई धेरै अगाडि बुझि सके । कम्युनिस्ट भनेको जनताको अधिकार खोस्ने पार्टी । निरंकुश भनेर बुझेका छन् ।’

सह–महामन्त्री डा.महतले भारतमा लोकसभा ५४३ सिटमा कम्ययुनिस्टले जम्मा ४ सिट जितेको उदाहरण दिएका थिए । भारतमा पनि कम्युनिस्टको पत्तासाफ भएको उनले बताए ।

नेपालमा कम्युनिस्टको गफ बिकेको उनले बताए । ‘कम्युनिस्टलाई कहिल्यै पनि नजित्ने गरेर पराजित गर्नुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरू रहँदासम्म जनतालाई सुख र समृद्धि कहिल्यै आउँदैन ।’

डा.महतले कम्युनिस्टले तीन वर्ष सत्ता चलाएर राम्रो गरेको बताएका छन् । ‘कम्युनिस्टले तीन वर्ष सरकार चलाएर राम्रो गरे । ठीक भयो’, उनले भने, ‘जनताले कम्युनिस्ट बुझ्ने मौका पाए ।’

कम्युनिस्टहरूलाई डा.महतले कमेडियनको संज्ञा दिएका छन् । ‘अब नेपालका कमेडियनहरूको काम भएन । कमेडीको प्रतिस्पर्धा गर्ने हो भने कम्युनिस्टले जित्छन्’, उनले भने, ‘राजनीति गर्ने नेताहरू कमेडियन बनेपछि देश बन्दैन । कम्युनिस्टले काम होइन मनोरञ्जन दिइरहेका छन् ।’

उनले कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रवादी नहुनेभन्दै जसरी पनि सत्ता कब्जा गर्ने नीति लिने गरेको आरोप लगाए ।

डा.महतले ओलीको सरकार कामचलाउ भएको भन्दै सरुवा बढुवा गर्ने अधिकार नरहेको बताए ।

कार्यक्रममा भोजपुर कांग्रेसका पार्टी सभापति नन्दमणि राई, नेपाल तरुण् दलका उपाध्यक्ष एवं युवा नेता उत्तम चापागाइँ, उमेशजंग रायमाझीसहित जिल्ला र अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 February 19, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया