ओलीको क्याबिनेटमा घुसपैठ, कांग्रेसलाई गाली गर्ने यी मन्त्री प्रचण्डतिर जाने सम्भावना

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसप्रति दुई महिना यता कुनै पनि आलोचना गरेका छैनन् ।

आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा ओलीले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट चोइटिएर गएको समूहका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल लगायतका नेताहरूमाथि कठोर आलोचना गर्ने गरेका छन् । तर, कांग्रेसविरुद्ध कुनै पनि अभिव्यक्ति दिएका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई साथ दिएको आरोप पार्टीभित्र लाग्ने गरेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ओलीसँग मिलेको भन्दै देउवाविरुद्ध मोर्चा बनाएर प्रचण्ड–माधव समूहको एजेण्डामा हात मिलाउ पुगेका छन् ।

ओली तत्काल कांग्रेसलाई चिढ्याएर जाने पर्छमा छैनन् । आफ्नै पार्टीबाट फुटेर गएको समूहभन्दा उपेन्द्र यादव–बाबुराम भट्टराईको जनता समाजवादी पार्टीप्रति भने ओली अलिक नरम छन् । मधेस केन्द्रित दलका केही नेताहरूसँग ओलीको सम्पर्क निरन्तर छ । मौका मिल्यो भने ओलीले मधेस केन्द्रित दलका केही नेताहरूलाई सामूहिक रुपमै नेकपा भित्र्याउने तयारीमा छन् । केही केन्द्रीय नेताहरूलाई नेकपामा ओलीले भित्र्याय पनि रहेका छन् ।

तर, ओलीका एकजना मन्त्रीले कांग्रेससँगको सम्बन्ध बिगार्ने गरेर अभिव्यक्ति दिएका छन् । ओली समूहका नेता समेत रहेका शहरी विकासमन्त्री प्रभु साहले कांग्रेसलाई द्वैध चरित्र देखाएको भन्दै आलोचना गरेका छन् । मन्त्री साहले कांग्रेस पतन उन्मुख रहेको बताएका छन् ।

बिहीवार रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले कांग्रेसलाई निरन्तर सत्ता स्वार्थमा रहेको भनेर आलोचना गरेका छन् । उनले कांग्रेस वर्तमान स्थितिमा पनि दोहोरो चरित्र देखाइरहेको टिप्पणी गरेका छन् ।

‘संसद विघटनपछि देशमा विद्यमान अवस्थाका बीच कांग्रेसको भुमिकामाथि सबैले एकपटक ध्यान दिन जरुरी छ’, साहले भने, ‘हामी जितेका पार्टी देशलाई नयाँ दिशा दिन ताजा जनादेशको लागि आह्वान गरेका छौँ ।’

मन्त्री साहले भनेका छन्, ‘जनताले पराजित गरिसकेको नेताहरू भने संसद पुनःथापनाको लागि माग गरिरहेका छन् ।’ संसद विघटनकै विषयमा एकातिर अदालतको कुरा मान्ने भन्नू र अर्कोतिर आन्दोलन गर्ने कार्य गर्नु कांग्रेसको लागि पतनको सुरुवात भएको मन्त्री साहले बताए ।

कांग्रेसले संविधान बनाएको दाबी पनि गर्ने अर्कोतिर धर्मनिरपेक्षता, संघीयता लगायतका संवैधानिक व्यवस्था उल्टाउन खोज्ने दोहोरो चरित्र देखाएको मन्त्री साहले बताए ।

‘एकातिर संसद पुनर्स्थापनाको माग गर्दै सडकमा आन्दोलन गरिरहेको कांग्रेस अर्कोतिर अदालतको फैसलालाई पनि स्वीकार्ने बताइरहेको छ । आज कांग्रेसको पोजिसन के छ ?’, मन्त्री साहले भने, ‘यो द्वैध चरित्रले नै अलिअलि बाँकी रहेको कांग्रेस पतनको सिकार बन्दै गएको छ । यही नै आजको आवश्यकता हो ।’

कांग्रेस द्वैध चरित्र देखाएर समाजलाई भ्रममा राखेर सत्ताको रस चाट्ने दाउमा रहेको बताउँदै मन्त्री साहले कांग्रेसले विगतमा पनि एकातिर आन्दोलन गर्ने र अर्कोतिर राजासँग बार्गेनिङ गर्नेजस्ता गतिविधि देखाएर सत्ताको आसपास मात्र रहेको आरोप लगाएका छन् ।

विगतमा माओवादीमा रहेका साह पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गुटमा थिए । बाबुरामले पार्टी छाडेपछि प्रचण्डसँगै बसेका थिए । नेकपाको प्रचण्ड–माधव समूह चोइटिएपछि केही समय मन्त्री साह प्रचण्डतिरै बसेका थिए । साहलाई अहिले पनि बाबुरामप्रति बफादार रहेको आरोप लाग्ने गरेको छ ।

ओलीले मन्त्री दिएपछि प्रचण्ड–माधव समूहलाई लात हानेर मन्त्री बन्न दौडिएर आएका हुन् । अहिले ओलीलाई सहयोग गर्नुभन्दा पनि मन्त्री साहले कांग्रेसलाई चिढ्याउने कार्य गरेका छन् ।

केही दिन अगाडि भृकुटीमण्डपमा आयोजित प्रचण्ड–माधव समूहको विरोध सभामा प्रचण्डले दुई जना मन्त्रीसँग कुरा भइरहेको र उनीहरू आफूहरूतिर मन्त्री छाडेर आउने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको त्यो अभिव्यक्तिलाई मिल्ने गरेर मन्त्री साहले अभिव्यक्ति दिन थालेपछि विभिन्न प्रश्न उठ्नुका साथै अड्कलबाजी हुन थालेका छन् ।

Published : Friday, 2021 February 19, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया