मध्यावधीबाट दुईतिहाइ ल्याएर कांग्रेसको सिद्धान्तअनुसार संविधान संशोधन गर्नुपर्छः भट्टराई

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले मध्यावधी निर्वाचनबाट कांग्रेसले दुईतिहाइ बुहमत ल्याएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल मगर संघले बिहीबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै भट्टराईले मध्यावधी कांग्रेसको राजनीतिक कार्यदिशा रहेको बताए ।

‘कांग्रेस संसदीय पद्धतिमा विश्वास राख्ने पार्टी भएको हुनाले मध्यावधी निर्वाचन हाम्रो विचारको विषय हो’, उनले भने, ‘हाम्रो सिद्धान्तको विषय हो । कसैलाई यो मध्यावधी निर्वाचन कानूनी र संवैधानिक मात्रै विषय भन्ने लाग्न सक्छ । कसैलाई यो राजनीतिक विषय भन्ने लाग्ला ।’

‘कांग्रेसका लागि कानूनी र राजनीतिक दुइटै विषय हो । हाम्रो सिद्धान्तको विषय पनि हो’, भट्टराईले भने, ‘हाम्रो जस्तै विचार राख्ने विश्वमा संसदीय व्यवस्थाहरू छन् । ती व्यवस्थामा मध्यावधी निर्वाचन हुनु स्वभाविक विषय हो ।’

‘कांग्रेस संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी हो’, उनले भने, ‘संसदीय व्यवस्था स्थापनाका लागि थुप्रै मान्छेले शहादत प्राप्त गरेका छन् । लाखौँ मान्छे कांग्रेस पार्टीमा लागेका छन् ।’

‘संविधान हिजो हामीलाई सहमतिको दस्तावेज भनिएको थियो । संविधानसभामा हामीले स्वीकार गर्‍यौँ’, उनले भने, ‘मध्यावधी निर्वाचन हाम्रा लागि अवसर हो । हामीले जोसँग कम्प्रामइज गरेका थियौँ ।’

‘कम्प्रमाइजको बाटो छोडेर मध्यावधी निर्वाचनमा हामी विजयी भएर यो संविधानलाई हाम्रो सिद्धान्तअनुसार संशोधन गर्ने अवसर हो’, कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले भनेका छन् ।

नेता भट्टराईले अहिलेको खड्गप्रसाद ओली कामचलाउ कम्युनिस्ट सरकार नालायक र भ्रष्टहरूको जमात भएको टिप्पणी गरेका छन् ।

‘यो सरकार भ्रष्ट हो । नालायक हो । दुईतिहाइ पाएर पनि देशको नेतृत्व गर्न सकेन’, उनले भने, ‘देश मात्रै होइन । आफ्नै पार्टीको पनि नेतृत्व गर्न सकेन । जनअभिमतको कदर पनि गरेन । मध्यावधी गरायो ।’

‘प्रतिपक्षका लागि पनि मध्यावधी अवसर हो । निर्वाचनमार्फत सत्तामा जाने अवसर हो’, उनले भने, ‘देशनै पुनर्स्थापनाकी मध्यावधीमा भनेर विभाजित देखिन्छ ।’

नेता भट्टराईले देशभरिका लाखौँ मगरहरूलाई कांग्रेसमा स्वागत गर्नुपर्ने बताए । उनले मगरहरूलाई क्रियाशील सदस्यता दिएर कांग्रेसमा स्थान दिनुपर्ने बताए ।

नेपाल मगर संघका सभापति ओम थापाले मगरहरूलाई कांग्रेसमा क्रियाशील दिनुपर्ने माग गरे ।

उनले भने, ‘लाखौँ मगरहरू कांग्रेसमा प्रवेश गर्न तयार छन् । क्रियाशील सदस्यता चाहिन्छ ।’ थापाले कांग्रेस बलियो भयो भने मात्रै मगरहरूको हकअधिकार बलियो हुनेभन्दै लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन लाखौँ मगरहरू तयार रहेको बताए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 February 18, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया