कांग्रेसको म्याद ६ महिना थप, भदौमा गयो महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन भदौमा गर्ने निर्णय गर्दै महामन्त्रीको प्रतिवेदनलाई थप प्रस्तावसहित सर्वसम्मतिले पारित गरेको छ ।

ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काद्वारा पेस गरिएको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको १४औँ महाधिवेशन भदौको ७, ८, ९ र १० गते काठमाडौंमा हुनेछ ।

प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ ।

गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

प्रदेश अधिवेशनको यथावत राख्दै वडादेखि जिल्लासम्मको असार १० गतेभित्र सम्पन्न गर्ने गरी कार्यतालिका ल्याएको छ ।

कांग्रेसले पार्टीका सबै तहका वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको निर्णय गरेको छ । कांग्रेसको १३ औं महाधिवेशन भएको १९ फागुनमा पाँच वर्ष पुग्दैछ ।

कांग्रेसको विधान अनुसार अघिल्लो १९ फागुनसम्ममा काँग्रेसको १४ औं महाधिवेशन भइसक्नु पर्ने थियो ।

सभापति शेरबहादुर देउवाले वर्तमान कार्यसमितिको म्याद ११ पुस २०७६ मा एक वर्षका लागि थप गरेका थिए । त्यसमा पनि महाधिवेशन सम्भव नभएपछि ६ महिना थप गरिएको छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि ६ महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

यो निर्णय पार्टीको आगामी १४औं महाधिवेशनमा राखिनेछ । कांग्रेसले पार्टी विधानमा भएको सुविधाभित्र महाधिवेशन गर्न नसकेर संविधानको सहारा लिएको छ ।

Published : Thursday, 2021 February 18, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया