देउवाको जवाफ सुनेपछि पौडेल–सिटौला समूह तनाबले भुतुक्क

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले सार्वजनिक स्थानमा आलोचना गरेर हुर्मत लिएका बेला सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् ।

देउवाले गैरराजनीतिक आलोचना भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा उनले प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापना विरोधीका रूपमा प्रचार गर्न खोजेको बताएका छन् ।

सभापति देउवाले भने, ‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन् ।’

‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ?’, देउवाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो ।’

नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि सभापति देउवा रिसाएका हुन् ।

सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा पौडेलले राखेका थिए । पौडेलले धेरै आलोचना गरेपछि देउवाले बीचमा रोकेर बोलेका थिए ।

‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ?’, पौडेल–सिटौला समूहसँग प्रश्न गर्दै सभापति देउवाले भने, ‘ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

देउवाले आफूलाई प्रधानमन्त्री बनाउन नेकपाको सरकारले संसद विघटन गरेको हो र ? भनेर पौडेल–सिटौला समूहसँग प्रश्न गरेका छन् ।

उनले भने, ‘मलाई कसैले प्रधानमन्त्री बनाउनु पर्दैन । म पार्टीलाई कसरी बलियो बनाउने भनेर लागेको छु । खाली ओलीले प्रधानमन्त्री बनाउने भयो भनेर विरोध गरेको गरै ।’

सभापति देउवाले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति देउवाले आक्रोश पोखरेका छन् ।

देउवाले आफू कुनै दल विशेषको नेता वा समूहले आश्वासन दिँदैमा प्रधानमन्त्री बनिहाल्छु भनेर राजनीतिमा नलागेको स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको प्रधानमन्त्री तपाई नै हो भनेर आश्वासन दिएको कारण सभापति देउवाले असंवैधानिक र अलोकतान्त्रिक ढंगले भएको प्रतिनिधि सभा विघटनको विरुद्धमा निर्णायक सडक आन्दोलनमा उत्रन र पुनर्स्थापनाको पक्षमा उभिन नचाहेको भनि नेता पौडेलले लगाएको आरोपको कडा प्रतिवाद गरेका हुन् ।

देउवाले आफ्नाविरुद्धमा पौडेल लगायतका नेताहरू नियोजित रुपमा चरित्र हत्या गर्न आधारहीन हल्ला फिँजाइरहेको भन्दै रिसाएका थिए ।

पार्टीका शीर्ष नेताहरुको सहमतिमा पदाधिकारीको अनौपचारिक बैठकले तय गरेका प्रस्ताव बाहिर गएर नेता पौडेलले ओलीको असंवैधानिक कदमको विरोधमा उभिँदै पुनर्स्थापनाको पक्षमा पार्टीले सर्वसम्मत निर्णय गरेर पुनर्स्थापनाको पक्षमा जनमत तयार पार्नुुपर्ने तथा प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिनु पर्ने धारणा राखेका थिए ।

यसरी आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले ओलीले अवको प्रधानमन्त्री तपाई नै हो भनिदिएको कारण त्यही आश्वासनमा परेर सभापति देउवा संसद पुनर्स्थापनाको पक्षमा निर्णय गरी सडक आन्दोलन चर्काउन तयार नदेखिएको आरोप बाहिर सार्वजनिक रुपमा आइरहेको बताएका थिए ।

अरु दिनको बैठकमा आफूविरुद्ध कुनै नेताले कुरा राख्दैगर्दा बिचमै प्रतिवाद र सवाल, जवाफमा उत्रिने गरेको देउवाले आजको बैठकमा पौडेलका कुरा सुनिसकेपछि मात्रै जवाफ फर्काएका थिए।

‘तपाई कोसँग कुरा गर्दै हुनुहुन्छ? मलाई ओलीले प्रधानमन्त्री दिने प्रावधान नेपालको संविधानमा कहीँ कतै छैन र त्यो आशा राखेर बसेको पनि म छैन’, देउवाले भने ।

‘मेरो ध्यान त कसरी पार्टीलाई बलिायो बनाएर आगामी निर्वाचनमा जनताको मन र मत जितेर सफलता हाँसिल गर्ने भन्नेमा मात्रै केन्द्रित छ’, देउवाले भनेका छन् ।

‘सडकमा हुलै देखाएर अदालतलाई प्रभावित गर्ने हो भने पनि हामी र हाम्रो पार्टीसँग भन्दा अहिले नेकपाका दुई पक्षसँगै राज्य स्रोत र पैसा पनि बढी छ’, देउवाले भने, ‘त्यसको आधारमा उनीहरुले नै हाम्रोभन्दा ठूलो भिड सडकमा जम्मा गर्न सक्छन् ।’

बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले पार्टीभित्र वरीयताक्रम मिलाउन माग गरेका छन् ।
विगतमा आमन्त्रित सदस्य अहिले आफूहरूभन्दा माथि रहेको भन्दै नेता बलायरले आपत्ति जनाएका छन् ।

‘१२औं महाधिवेशनपछि १३औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाले केही आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो’, बलायरले भनेका छन्, ‘अहिले उनीहरूलाई हामीभन्दा वरीयताक्रममा माथि राखिएको छ । यो तत्काल सच्याउनु पर्छ ।’

नेता बलायरले क्रियाशील सदस्यता वितरणमा लोभ नगर्न पनि आग्रह गरेका छन् । ‘पार्टीको तल्लो तहका कमिटीमा रहेका साथीहरूले सक्रिय सदस्यता पाउने अवस्था छैन’, उनले भने, ‘यसलाई बढाउनुपर्छ ।’

‘संगठन बढाउनुपर्छ भन्ने तर, सदस्यता नदिने कुरा उचित हुँदैन’, कांग्रेस नेता बलायरले बताएका छन् ।

Published : Thursday, 2021 February 18, 7:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया