डीआईजी सुवेदीले च्याप्प पारेका यी हुन् भागरथी हत्याका अभियुक्त

बैतडी । प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको भनिएका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले दिनेशले भागरथीको बलात्कारपछि हत्या गरेको दाबी गरे ।

दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा १८ वर्षीय दिनेशलाई पक्राउ गरिएको उनले बताए ।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको सुवेदीले बताएका छन् ।

आरोपी दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेशन, प्रत्यक्षदर्शी र बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको उनले बताए ।

भागरथीका दाई शंकर भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेका छन् । अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको थियो ।

भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ । आफन्तले बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मात्र शव बुझ्ने अडान लिएका थिए ।

दिनेशले भागरथीलाई ढुकेर हत्या गरेको खुलेको डीआईजी सुवेदीले बताएका छन् ।

माघ २१ गते दिउँसो करिब २ बजेतिर दिनेश अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए ।

साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए ।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो’, डीआईजी सुवेदीले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो ।’

दिनेशले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन् । पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो ।

प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै सो रिसिइबीबारे अहिले खुलाएको छैन ।

Published : Wednesday, 2021 February 17, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया