महामन्त्री डा.कोइरालाको कार्यक्रममा देउवा समूहलाई अबरोध, सुध्रिन चेतावनी

घोराही । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला सहभागी भएको सरकार विरोधी विरोध सभामा आफ्ना विरोधी समूहका नेताहरूलाई बोल्न रोक लगाएर आलोचित हुन पुगेका छन् ।

ाङको घोराहीमा कांग्रेसले फागुन ३ गते आयोजना गरेको विरोध सभाका प्रमुख अतिथि समेत रहेका महामन्त्री डा.कोइराला सहभागी कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई बोल्न रोक लगाएका हुन् । विरोध सभामा बोल्ने वक्ताका विषयमा डा.कोइरालाले पहिलानै सोधेका थिए । बोल्ने वक्ताको सूचीमा देउवा समूहका नेताहरूको नाम देखेपछि डा.कोइरालाले नै काट्न लगाएको एक नेताले बताएका छन् ।

डा.कोइरालाले आफू सहभागी कार्यक्रमलाई सबैलाई मिलाएर लैजान सुझाव दिनुपर्ने थियो । तर, डा.कोइरालाले केही नबोलेर आफ्नो गुटलाई संरक्षण गरेको आरोप दाङ कांग्रेसमा लागेको छ ।

कम्युनिस्टहरूले दाङसहित देशभरि दब्दबा कायम राखेका बेला दाङ क्षेत्र नं. ३ को प्रदेश सभाबाट निर्वाचित भएका डिल्ली चौधरीलाई बोल्न दिइएन । चौधरी पूर्वमन्त्री र संविधानसभाका सदस्य पनि हुन् ।

कांग्रेस नेता चौधरीकै कारण थारुहरूले मुक्ति पाएका थिए । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नेता चौधरीको आफ्नै प्रभाव छ ।

सोमबारको विरोध सभामा बोल्न नदिएपछि नेता चौधरीले महामन्त्री डा.कोइरालाकै अगाडि दाङ कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य दीपक गिरीको सातो लिएका छन् ।

चौधरीले नेता गिरीलाई यसै गरेर भेदभाव गरेर जाने हो भने आगामी कार्यक्रमहरूमा आफूहरूले पनि सोमबारको विरोध सभामा भएको कार्यको बदला लिन सक्ने चेतावनी दिएका थिए । तर, चौधरीले व्यक्तिभन्दा ठूलो कांग्रेस पार्टी भएकाले आफूहरूले त्यस्तो हर्कत नगर्ने बताएका छन् ।

मंगलबार बिहान नेपाल प्रेस युनिन घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महामन्त्री कोइराला, केन्द्रीय सदस्य गिरी, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्कासहितका नेताहरूका सामु नेता चौधरी पड्किएका थिए ।

हजारौँको संख्यामा जम्मा भएका कांग्रेसका कार्यकर्ताहरूको बीचमा चौधरीलाई मात्रै होइन धेरैलाई बोल्न दिइएको थिए । सूचीबाट नाम काटिएको थियो । दाङ क्षेत्र नं. २ का पूर्वसांसद राजु खनाल, पूर्वसभापति गेहेन्द्र गिरी, पूर्वसभापति वीरकेश्वरी गौतम, पूर्वसांसद सुशीला चौधरी, प्रदेश सभा सांसद अर्जुनप्रसाद श्रेष्ठलगायतलाई बोल्न दिइएन ।

विरोध सभामा क्षेत्रीय सभापति भुपबहादुर डाँगीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव शंकर डाँगीले गरेका थिए । सभापति खड्काले विरोध सभाको सभापतित्व गरेका थिए ।

कार्यक्रममा सबैलाई बोल्न दिनुपर्छ भन्ने मान्यता सबैले राखेका थिएनन् । वक्ताको चयन गर्दा मिलाएर गर्नुपर्ने धेरैको सुझाव छ ।

पूर्वपार्टी सभापतिहरूबाट एक जना, प्रदेश सभा सदस्यहरूको तर्फबाट एक जना, दाङ क्षेत्र नं. २ मा कार्यक्रम भएकाले त्यो क्षेत्रको पूर्वसांसदमध्यबाट एक जनालाई दिनुपर्ने थियो ।

वीपी कोइरालाका छोरा समेत रहेका महामन्त्री डा.कोइराला सहभागी भएकै कार्यक्रममा यसरी भेदभाव भएपछि कांग्रेसका अन्य नेता कार्यकर्ताहरूको मन भाँच्चिएको छ ।

सभापति देउवाले पार्टी बिगारेको भनेर आरोप लगाएर सार्वजनिक रुपमा आलोचना गर्दै आएका डा.महामन्त्री कोइरालाले आफूलाई सुधार गर्न सकेका छैनन् । कांग्रेस बनाउने हो भने पहिला आफूबाट सबैले सुधार गर्नुपर्छ ।

मौका मिल्दा विरोधलाई ठेगान लगाउने । मौका नपाउँदा सभापति देउवा वा अरुलाई गाली गरेर बस्ने कार्य ठीक नभएको दाङ कांग्रेसका नेताहरूको भनाइ छ ।

घोराहीको विरोध सभामा महामन्त्री डा.कोइरालाले एक जना नेता विशेषको मात्रै नाम लिएर कांग्रेसको जिम्मेवारी दिएकोमा पनि अरु नेताहरूले मन पराएका छैनन् ।

सार्वजनिक कार्यक्रममा के बोल्दा के हुन्छ ? भनेर बुझ्न नसक्ने महामन्त्री डा.कोइरालालाई सुध्रिन सुझाव आएको छ । डा.कोइरालाको संगत गलत मान्छेसँग रहेको भनेर बेलाबेला आलोचना हुने गरेको छ ।

Published : Wednesday, 2021 February 17, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया