तरुण दलद्वारा सरकारी नेकपालाई सुध्रिन चेतावनी, कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दलले बैतडी जिल्लामा नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको विरोध गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भईरहेको समयमा कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेता तथा कार्यकर्तामाथि नेकपाबाट नियोजित रूपमा सत्ता र शक्तिको आडमा गरिएको आक्रमण अत्यन्त निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ ।

‘आक्रमणमा परि घाइते हुनुभएका सम्पूर्ण ब्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, उनले भनेका छन् ।

‘आगामी दिनमा यस्ता भौतिक आक्रमणका घटना फेरि पनि दोहरिए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिन चाहान्छौं’, तरुण अध्यक्ष बस्नेतले भनेका छन्, ‘घटनामा संलग्न सम्पूर्ण दोषीलाई चाडो भन्दा चाडो पक्राउ गरि कारबाहीको जोडदार माग पनि गर्दछौं ।’

‘कार्यक्रम स्थलमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्ट, उपाध्यक्ष कर्ण राना लगायत स्थानीय तरुण साथीहरूले देखाएको सक्रियताका कारण कार्यक्रम पुनः सुचारु भएको हुदा सम्पुर्ण तरुण साथीहरुको सक्रियताको प्रशंसा गर्दै नेपाल तरुण दल केन्द्रिय समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘आगामी दिनमा पनि पार्टी र संगठनका कार्यक्रममा यस्तै सक्रियताको अपेक्षा गर्दछौं’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Wednesday, 2021 February 17, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया