सरकारी कम्युनिस्टले कांग्रेसमाथि देखाए हर्कत, सानेपाको मन दुख्यो

काठमाडौं । नेपाली कांग्रेसले बैतडी जिल्लामा कांग्रेसका नेताहरूमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले आक्रमण गरेकोमा विरोध जनाएको छ ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बैतडी घटनाको विरोध गरेको हो ।

‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री केपी ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ’, कांग्रेसले भनेको छ ।

नेकपाका कार्यकर्ताले केही सवारी साधनमा तोडफोड समेत गरिदिएका छन् ।

‘एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ’, कांग्रेसले विज्ञप्तिमा जनाएको छ ।

‘यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ’, कांग्रेसले भनेको छ ।

Published : Tuesday, 2021 February 16, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया