माओवादी वडाध्यक्षले भू–माफियासँग मिलेर ललितपुरमा १३ रोपनी जमीन हानिदिए

गोदावरी । ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले अर्कै वडाको १३ रोपनी जमीन खरिद विक्रीका लागि सिफारिस दिएको खुलासा भएको छ ।

२ नं. वडाका वडाध्यक्ष घिमिरेले वडा नं. ३ को दल्चोकीको कित्ता नम्बर ४७, ४८ र ९ ‘ग’को १३ रोपनी जग्गाको घरबाटो सिफारिस दिएको खुलासा भएपछि ललितपुर जिल्लाभरि हँगामा भएको छ ।

कोन्ज्योसोम गाउँपालिका– २ शंखुका वडाध्यक्ष घिमिरेले पदको दुरुपयोग गरि घरबाटोको सिफारिस दिएको आरोप छ ।

घिमिरेको सिफारिसपछि वडा नं. ३ दल्चोकीको जमीन बिक्री गरेर पास समेत भइसकेको छ । वडाध्यक्ष घिमिरेले आफूले अर्को वडाको जग्गाको सिफारिस दिएको स्वीकार गरेका छन् ।

जग्गा दलालसँग मोटो रकम लिएर सिफारिस दिनुभएको आरोप छ नि भन्ने प्रश्नको जवाफमा वडाध्यक्ष घिमिरेले भने, ‘एक पैसा खाएको छैन । जे सजाय पनि भोग्न तयार छु ।’

कागज पत्र अध्ययन नै नगरी मालपोत कार्यालय गोटीखेलका प्रमुख सुवर्ण बज्राचार्यले पास गरेको वडा नं. ३ का वडाध्यक्ष तिलक बोम्जोनले बताएका छन् ।

वडा नं. ३ का वडाध्यक्ष बोम्जनले आफ्नो वडाभित्र पर्ने दलचोकीको जग्गा वडा नं. २ का वडाध्यक्ष ध्रुबप्रसाद घिमिरेले सिफारिस दिएर अख्यिारको दुरुपयोग गरेको बताएका छन् ।

‘जग्गा दलाल कृष्ण घिमिरे जग्गावाल व्यक्तिको नागरिकता लिएर मेरोमा सिफारिस लिन आउनुभएको थियो । मैले सम्बन्धित व्यक्ति चाहिन्छ भनेर सिफारिस दिइन’, वडाध्यक्ष बोम्जोनले भने, ‘मैले सिफारिस नदिएपछि वडा नं. ३ का वडाध्यक्ष ध्रुबप्रसाद घिमिरेकोमा गएर सिफारिस बनाएर लगेर जग्गा पास गरिएको रहेछ ।’

यो विषयमा वडाध्यक्ष बोम्जनले गाउँपालिकका अध्यक्ष गोपिलाल सिंतानसँग पनि कुरा गरेका छन् । गाउँपालिकाका अध्यक्ष सिंतान र वडाध्यक्ष बोम्जनले गोटीखेल मालपोतका प्रमुख बज्राचार्यसँग अर्कै वडाको सिफारिसबाट जग्गा किन पास गरिदिएको भनेर प्रश्न राखेका छन् । तर, मालपोत प्रमुख बज्राचार्यले कुनै पनि जवाफ नदिएर कार्यालयबाट निस्किएर हिँडेको वडाध्यक्ष बोम्जनले बताए ।

कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले १३ रोपनी जग्गाको सिफारिस अर्को वडाका वडाध्यक्षले दिएको विषयमा अध्ययन र छानविन गर्ने बताए । ‘जानीजानी गरेको हो वा अञ्जानमा गल्ती भएर गरेको हो त्यसमा भरपर्छ’, शर्माले भने, ‘म माघ २८ गतेदेखि कार्यालयमा छैन । विदा र तालिममा छु । कार्यालयमा गएर बुझ्नेछु । गल्ती भएको रहेछ भने गाउँ कार्यपालिकाले यो विषय हेर्छ । गल्ती भएको रहेछ भने कारबाही हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत शर्माले पहिला कीर्ते भएको भनिएको जग्गा रोक्का गर्न मालपोत कार्यालय गोटीखेललाई पत्र पठाउने बताएका छन् ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जग्गासम्बन्धी विवाद आफूले हेर्न नमिल्ने भएपनि उजुरी आयो भने छानविन र कारबाहीका लागि सरोकारवाला निकायमा पठाएर सहयोग गर्ने बताएका छन् । उनले भने, ‘कसैले पनि आफ्नो अख्तियारीभन्दा बाहिर जानु हुँदैन । कानून र संविधानको दायरामा बसेर कार्यसम्पादन गर्ने हो । जग्गा पास गर्दा मालपोत प्रमुखले लिखित प्रमाण हेर्नुपर्ने थियो । जग्गा पास गर्नुभन्दा पहिलानै मालपोत र नापी कार्यालयले यो विषय हेर्नुपर्ने थियो । मोठमा कसरी मिल्यो त्यो कुरा ?’

वडाध्यक्ष घिमिरे र जग्गा दलाल कृष्णप्रसाद घिमिरेको मिलेमतोमा दलचोकीको १३ रोपनी जमीन कीर्ते गरि पास भएपछि यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगर अन्य न्यायिक सरोकारवाला निकायमा मुद्धाका रुपमा जाने भएको छ ।

कीर्ते काममा ठूलो आर्थिक चलखेल भएको आरोप छ । अर्को वडामा पर्ने जमीनको सिफारिस अर्कै वडाका वडाध्यक्षले सिफारिस दिएर बिक्री र मालपोतबाट पास भएपछि ललितपुरमा भू–माफियाको कति ठूलो आतंक रहेछ भन्ने रहस्य बाहिर आएको छ ।

कोन्ज्योसोम गाउँपालिका– ३ का वडाध्यक्ष बोम्जनले गाउँपालिकाको न्यायिक समितिमा २ नं. वडाका वडाध्यक्ष घिमिरेविरुद्ध उजुरी दिने तयारीमा छन् ।

तत्कालीन माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका घिमिरे १३ रोपनी जमीन काण्डमा परेपछि पद नै धरापमा परेको छ । कारबाहीबाट बच्न घिमिरेले राजनीतिक शक्ति केन्द्र धान थालेका छन् ।

१३ रोपनी जमीन काण्डपछि जग्गा दलाल कृष्णप्रसाद भिमिरे भूमिगत भएका छन् । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष सिंतानसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । सिंतानले फोन उठाएनन् ।

Published : Tuesday, 2021 February 16, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया