तरुण अध्यक्ष बस्नेतद्वारा ओली–प्रचण्डको भण्डाफोर, वामदेव–नारायणकाजीको ललितपुरमा ‘धोती’ खुस्काइदिए

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष एवम् कांग्रेसका युवा नेता जितजंग बस्नेतले हारेका नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाँदा संविधान मिचियो कि मिचिएन भनेर कथित वुद्धिजीवीहरूलाई प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस ललितपुरले सोमबार जावलाखेलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले सरकार, सदन र जंगलको कम्युनिस्टका लागि कांग्रेस सडकमा नजाने बताए । उनले राष्ट्र, लोकतन्त्र, संविधान र कानूनी शासनका लागि कांग्रेस एक्लै सडकमा जाने चेतावनी दिए ।

‘प्रतिनिधि सभाको निर्वाचनमा हारेका नाराणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाँदा संविधान मिचियो कि मिचिएन ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘स्वार्थ मिल्दासम्म तीन वर्ष भागबण्डा गरेर बसे । सत्तास्वार्थमा कुरा नमिलेपछि संविधान मिचियो भन्दै सडकमा आएका छन् । कम्युनिस्टहरूको कुर्सी र स्वार्थ हामीले मिलाइदिनुपर्ने ?’

उनले भने, ‘कांग्रेस सडकमा थियो । सडकमा छ । आज पनि जनताकै बीचमा छ । सत्तामा पनि छ । आन्दोलन गर्न प्रचण्डले सिकाउनु पर्दैन ।’

अध्यक्ष बस्नेतले भनेका छन्, ‘कम्युनिस्टले आजसम्म देशलाई के दिए ? केही पनि दिएको छैन ।’
संसद विघटनको कुरा असंवैधानिक भनेर कांग्रेसले विरोध गरिसकेको भन्दै सडकमा आन्दोलन गरिरहेको उनले बताएका छन् । ‘संसद विघटन भएपछि कांग्रेसले असंवैधानिक भनेर आन्दोलन ल्याएको छ’, उनले भने, ‘प्रचण्डको लेनदेनमा कुरा मिल्दैन । त्यसपछि सडकमा जान्छन् । तीन वर्षसम्म मिल्ने । लेनदेनमा कुरा नमिलेपछि संवैधानिक घटनाहरू भन्ने ? अहिले कुरा नमिल्दा संविधान मिचियो भन्ने ?’

तरुण अध्यक्ष बस्नेतले दुई ठाउँबाट हारेका माधव नेपाल बालुवाटारको ललिता निवासको सरकारी जग्गा बेच्न प्रधानमन्त्री मन्त्री बनेको आरोप लगाएका छन् । ‘माधव नेपालले बालुवाटार बेच्न हुने’, उनले भने, ‘जनतालाई कोभिडविरुद्धको भ्याक्सिनमा बोल्न नपर्ने ?’

उनले झलनाथ खनाललाई सर्प पाल्न लिएको ७० करोड फिर्ता गर्न सुझाव दिएका छन् । कोरोनाविरुद्धको भ्याक्सिन किन्न ७० करोड फिर्ता गरे खनाललाई कांग्रेसको सरकार आयो भने ९० करोड रुपियाँ दिलाइदिने अध्यक्ष बस्नेतले आश्वासन दिएका छन् ।

बाबुराम भट्टराईलाई सबैभन्दा ठूलो बुद्धिजीवी भनेर व्याङ्ग्य गरेका तरुण अध्यक्ष बस्नेतले भने, ‘बाबुरामजीले संविधान बनाउन पनि नसक्ने । सरकार छाड्नेवित्तिकै अर्को पार्टीमा जानुपर्ने । लेनदेन नमिले पार्टी फुटाउने । कांग्रेसले जिताउनुपर्ने । तिजेको दिनमै कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने । कम्युनिस्टलाई जिताउने ठेक्का कांग्रसको होइन ।’

‘कम्युनिस्टसँग सहकार्य हुँदैन । जंगल, सरकार या सदनको कम्युनिस्टसँग कसैसँग पनि सहकार्य हुँदैन’, उनले भनेका छन्, ‘सत्ताको लेनदेन नमिलेपछि संसद भङ्ग गर्ने । सडकमा जानेहरूको पक्षमा कांग्रेस छैन । आन्दोलन गर्नुपर्दा कांग्रेस एक्लै आफ्नै बलबुताले गर्छ ।’

राजदरबारको अगाडि बसेर सर्वोच्चलाई औँला नठड्याउन प्रधानमन्त्री केपी ओलीलाई बस्नेतले चेतावनी दिएका छन् । उनले प्रचण्डलाई पनि रत्नपार्कबाट सर्वोच्च अदालततिर औँला नदेखाउन सचेत गराएका छन् । ‘सर्वोच्च अदालतलाई धम्काउने काम नहोस् । धम्काउने कार्य भयो भने यो राष्ट्र नहुन सक्छ’, उनले भनेका छन् ।

‘संविधानको ब्याख्या गर्ने जिम्मेवारी सर्वोच्चलाई दिइएको छ’, उनले भने, ‘संसद पुनःस्थाना भयो भने कांग्रेस तेस्रो पार्टी भएर सदनमा बस्छ । संसद विघटन सदर भयो भने पनि कांग्रेस चुनावमा जान तयार छ ।’

‘ब्याख्या सर्वोच्चले गर्छ’, अध्यक्ष बस्नेतले भने, ‘जनताबाट निर्वाचन गरेर जनतम ल्याएर पनि जान सकिन्छ ।’

देश बनाउने जिम्मेवारी कांगेसको काँधमा आएको भन्दै तयारी अवस्थामा बस्न उनले अनुरोध गरेका छन् ।

‘प्रचण्डले कुम हल्लाउँदा र सडकमा बस भन्दैमा कांग्रेसले सडकमा आएर प्रचण्डलाई सहयोग गर्दैन’, उनले भने, ‘प्रचण्डले कांग्रेसलाई पटक पटक धोका दिएका छन् । कांग्रेसले प्रचण्डलाई जंगलबाट ल्याएर ८७ सिट दिएको हो । प्रचण्डले चुनाव कसरी जित्नुभयो हामीलाई थाहा छैन र ? सबै कुरा जानकारी छ ।’

कांग्रेसको कुनै पनि कम्युनिस्टसँग सहकार्य नहुने उनले बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मिएको कम्युनिस्टसँग सहकार्य र समझदारी हुँदैन’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

संविधान र कानूनको कुरा गर्ने रामकुमारी झाँक्री, प्रचण्ड र माधव नेपालले रामचन्द्र पौडेललाई तनहुँमा दुरव्यवहार गर्दा कुन दुलोभित्र थिए भनेर अध्यक्ष बस्नेतले प्रश्न गरेका छन् । झाँक्रीलाई प्रहरीले पक्राउ गर्दा तरुण दल र नेपाली कांग्रेसले बोलेको उनले बताए ।

विरोध सभामा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Published : Monday, 2021 February 15, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया