ओली–प्रचण्ड–माधवलाई दुईतिहाइ होइन, जनताले चढ्कन दिन्छन्ः भट्टराई

रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले तीन वर्षमा कम्युनिस्टहरूले ढाँट्नसम्म ढाँटेको बताएका छन् ।

रौतहट जिल्लाको गौरस्थित वीपी चोकमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले कम्युनिस्टहरूले पार्टीभित्रको आन्तरिक समस्यालाई समाधान गर्न नसकेर तीन वर्षभित्रै संसद भङ्ग गरेर मध्यावधि निर्वाचन गर्न लागेको बताए ।

‘संसद भङ्ग गरेर मध्यावधि घोषणासँगै केपी ओलीजीले दुईतिहाको माग गर्नुभएको छ । जनताले ओलीजीलाई दुईतिहाइ दिन्छ कि चढ्कन दिन्छन् थाहा भएन’, उनले भने, ‘माधव नेपालजीलाई पनि दुईतिहाइ दिन्छन् वा रौतहटका जनताले चढ्न दिन्छन् पछि थाहा होला ।’

‘तीन वर्षमा कम्युनिस्टहरूले जनतालाई ढाँट्नसम्म ढाँटेका छन् । कम्युनिस्ट भनेको ढाँटको पार्टी हो’, भट्टराईले भने, ‘कम्यनिस्टले तीन वर्षको समयमा मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध राख्न पनि सक्दैन ।’

संसद भङ्ग भएको विषय सर्वोच्च अदालतमा बिचाराधीन रहेको बताएका नेता भट्टराईले भने, ‘जसरी भए पनि संसद चाहिन्छ । संसद पुनःस्थापना भएर होस् वा निर्वाचनबाट होस् । संसद आउनुपर्छ ।’

नेता भट्टराईले ढिलो चाँढो मुलुकमा चुनाव हुनेभन्दै निर्वाचनको तयारीमा बस्न निर्देशन दिएका छन् । उनले सबै विनर्वाचन क्षेत्रमा कम्युनिस्टहरूलाई बढारेर चारतारे झण्डा गाड्ने बताएका छन् । कम्युनिस्टहरूले मुलुकमा राजनीतिक अस्थिरता ल्याएको भट्टराईले बताएका छन् ।

‘कम्युनिस्टहरूले सरकारमा राजनीतिक चलखेल मात्रै गरे । पद र पैसामा तीन वर्ष गयो’, उनले भने, ‘केपी ओली, प्रचण्ड माधव नेपालले मुलुकलाई मध्यावधिमा लगेर उभ्याएका छन् ।’

संसद भङ्ग गर्ने कम्युनिस्ट सरकारको कदमलाई कांग्रेसले असंवैधानिक भनेर विरोध जनाइसकेको जनाएका नेता भट्टराईले भने, ‘विरोधले मात्रै मुलुकमा निकास निस्कदैन ।’

संविधानको ब्याख्या गर्ने अधिकार संविधानले नै दिएको उनले बताएका छन् । ‘संविधानमा समस्या आयो भने सर्वोच्च अदालतलाई त्यसको ब्याख्या गर्ने अधिकार दिएको अवस्था छ’, उनले भने, ‘अदालतले जे फैसला दिन्छ कांग्रेसले मानेर जान्छ ।’

‘संसद विघटनका विषयमा कांग्रेसमा दुई थरी कुरा आएको भनेर आरोप छ । कांग्रेसको आफ्नै सैद्धान्तिक धरातल छ’, उनले भने, ‘कांग्रेसले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आन्दोलन गरेको छ । आन्दोलन चर्काएन भनेर कांग्रेसको आलोचना भएको भन्छन् । दुई थरी कुरा आयो भन्छन् ।’

‘कांग्रेसको सिद्धान्त भन्ने हो भने मध्यावधि निर्वाचन नै हो । कांग्रेस संसदीय पद्धतिमा विश्वास राख्छ’, उनले भने, ‘अहिलेको संविधानले मध्यावधि निर्वाचनको प्रक्रिया खोज्छ । संसद पुनःस्थापना भयो भने कसैले पनि विश्वासको मत लिन सकेनन् भने मध्यावधिमा जाने नै व्यवस्था छ । मध्यावधिले लोकतन्त्र कमजोर हुँदैन । बलियो हुन्छ ।’

‘ओलीले गरेको कदम असंवैधानिक हो । कांग्रेस सरकारमा नजाने भएपछि ओली वा अरुलाई किन समर्थन गर्ने ?’, उनले भने, ‘कसैले पनि विश्वासको मत पाएन भने मध्यावधिमा नै जाने हो ।’

‘संसद पुनःस्थाना होस् वा निर्वाचनबाट संसद आओस् । छिटो संसद आउनुपर्छ’, भट्टराईले भनेका छन् ।

दुईतिहाइको मत दिँदा मुलुकमा राजनीतिक स्थिरता र समृद्धि आउँछ भनेर जनताले मत दिएको बताएका कांग्रेस नेता भट्टराईले भने, ‘विकास र समृद्धि एमाले र माओवादीका मन्त्रीलाई भयो ।

सुकुम्वासी, मजदुरहरूलाई केही भएन । कम्युनिस्ट सरकाले के दियो र ? केही दिएको छैन ।’
कांग्रेसकै पालामा वृद्धवृद्धालाई भत्ता बढाएर २५ सय बनाएको उनले बताए । ओलीले पाँच हजार भत्ता बनाउने कुरा हावादारी भएको उनले बताए ।

कम्युनिस्टहरू भ्रष्टाचारमा डुबेको आरोप नेता भट्टराईले लगाएका छन् । प्रचण्डले नेपाल राष्ट्र बैठकमार्फत भर्जिनिया आइल्याण्डबाट ३० अर्ब रुपियाँ नेपाल ल्याएको समेत भट्टराईले बताएका छन् ।

कांग्रेस मात्रै तराई मधेसका जनताको असली पार्टी भएको उनले बताएका छन् । मधेसवादी दलहरूलाई सरकारमा बस्ने मौका आउँदा तराई मधेसको कुनै काम नगरेको उनले बताए ।

कम्युनिस्टलाई अवसरवादी र मधेशवादी दलहरूलाई सत्ताका लागि जे पनि गर्ने भनेर टिप्पणी गरेका कांग्रेस नेता भट्टराईले कांग्रेसले तराई मधेसका जनताका लागि काम गर्ने बताए । उनले तराई मधेससँग कांग्रेसको पुरानो सम्बन्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा विघटित प्रतिनिधि सभाका सांसद देवीप्रसाद तिमिल्सिना लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 February 15, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया