कांग्रेस ओली–प्रचण्डको पक्षमा छैन, दुबै दोषी हुन्ः डा.महत, सिरहामा अहिलसम्मकै ठूलो प्रदर्शन

सिरहा । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता स्वार्थ नमिले पछि संसद विघटन गरेको आरोप लगाएका छन् ।

सोमबार नेपाली कांग्रेसले सिरहामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डा.महतले सत्ता स्वार्थ मिल्दासम्म ओली–प्रचण्डले मिलेर भ्रष्टाचार, अनियमितता, संविधान र कानून उल्लंघन गरेको बताए । ‘तीन वर्षसम्म ओली–प्रचण्ड हातेमालो गरेर बस्नुभयो । स्वार्थ बाझिएपछि झगडा गर्नुभयो’, उनले भने, ‘सत्ता संघर्ष शुरु भएपछि संसद विघटन भयो । दुबै दोषी हो ।’

‘संसद विघटनमा ओली–प्रचण्ड दुबै दोषी भएकाले एउटा पक्ष चोखिन सक्दैन’, डा.महतले भने, ‘कांग्रेस अबको बिकल्प हो । कांग्रेस ओली वा प्रचण्ड पक्षको हुँदैन । कांग्रेस आफ्नो पक्षमा हुन्छ ।’
सह–महामन्त्री डा.महतले संसद विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै अदालतको अन्तिम निर्णय कांग्रेसले मान्य हुने बताए ।

‘संसद विघटन हुँदा हामी खुसी हुनुपर्ने थियो । तर, हामी खुसी भएनौँ । संसद विघटन गर्ने नेकपाको सरकारको कदमलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक भनेर विरोध प्रदर्शन गरेका छौँ’, डा.महतले भने, ‘कांग्रेसले संसद विघटन गरेको भए कम्युनिस्टले चुनावमा गएर कांग्रेसलाई हराउनुपर्छ भनेर अहिले उत्पात मच्चाइ सक्ने थिए ।’

‘कांग्रेसले लोकतन्त्रलाई मान्छ । कानून र संविधान मान्छ । कम्युनिस्टले मान्दैनन्’, उनले भनेका छन्, ‘संविधानको ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइएको छ ।’

डा.महतले ढिलो चाँढो मुलुक निर्वाचनमा जाने भएको भन्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

‘सर्वोच्च अदालतबाट संसद पुनःस्थापना होस् वा निर्वाचनबाट संसद आओस् । संसद चाहिन्छ’, सह–महामन्त्री डा.महतले भने, ‘संसद पुनःस्थापना भयो भने दुई वर्षपछि निर्वाचनमा जानुपर्छ । संसद पुनःस्थापना भएन भने अहिलेनै निर्वाचनमा जानुपर्छ । कांग्रेस चाँढोभन्दा चाँढो संसद चाहन्छ ।’ उनले कांग्रेस निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

डा.महतले कामचलाउ ओली सरकारले दीर्घकालीन महत्वको निर्णय गर्न नहुने बताएका छन् ।
आगामी निर्वाचनमा सिहार जिल्लाका ४ क्षेत्रमा कांग्रेसलाई शानदार मतका साथ जिताउन डा.महतले अपील पनि गरेका छन् । ‘मनमुटाव भुलेर कांग्रेसलाई जिताउनुपर्छ । पार्टी महत्वपूर्ण हो । पार्टी सिस्टम ठूलो कुरा हो । व्यक्ति मन पर्न पनि सक्छ । मन नपर्न पनि सक्छ’, उनले भनेका छन् ।

कम्युनिस्टहरू झुठ बोल्न माहिर रहेको उनले बताएका छन् । ‘जितेपछि कम्युनिस्टहरू जनतालाई झुक्काएको भनेर हाँसेका थिए’, उनले भनेका छन् ।

‘भारतमा कम्युनिस्टले लोकसभाको ५४३ सिटमा जम्मा ४ सिट जित्छ । त्यो पनि अरुसँग मिलेर’, उनले भने, ‘नेपालमा कम्युनिस्टले दुईतिहाइ मतका साथ जितेका छन् ।’

तराईको पूर्व–पश्चम हुलाकी सडक कांग्रेसको पहलमा भारतको अनुदानमा बनेको डा.महतले बताएका छन् । तीन वर्षमा ओली प्रधानमन्त्री बनेपछि हुलाकी सडकको जति काम अगाडि बढ्नुपर्ने हो त्यसरी काम हुन नसकेको उनले बताएका छन् ।

‘कम्युनिस्ट भनेका लोकतान्त्रमा विश्वास गर्ने पार्टी होइनन् । कांग्रेस मात्रै जनतालाई बलियो बनाउने पार्टी हो’, उनले भने, ‘नेपालको शासन सत्तामा कहिल्यै पनि नआउने गरेर कम्युनिस्टलाई पराजित गर्नको लागि कांग्रेसको विरोध प्रदर्शन केन्द्रित हुनुपर्छ ।’

कांग्रेसको विरोध प्रदर्शन ओली सरकारले पछिल्लो समयमा संसद विघटनको गरेको विरोधमा पनि रहेको उनले बताएका छन् । कांग्रेसले तीन वर्षको कम्युनिस्ट सरकारको भ्रष्टाचार, बेथिति, कोरोना महामारीका बेला भएको भ्रष्टाचार लगायतमा विरोध गर्दै आएकोमा पछिल्लो समय संसद विघटनको कुरा जोडिएको उनले बताएका छन् ।

सह–महामन्त्री डा.महतले ओली–प्रचण्ड र कम्युनिस्टहरूलाई कमेडी गर्न छाडेर देश र जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् ।

‘अब देशमा कमेडियनहरूको आवश्यक्ता परेन । हाँस्य कलाकार र कम्युनिस्टलाई प्रतिस्पर्धा गराउने हो भने कम्युनिस्टले जित्नेछन्’, उनले भने, ‘ओलीको मनोरञ्जन चाहिएको छैन । मनोरञ्जन दिनका लागि धेरै कलाकार छन् । पार्टीको नेतृत्वले देश बनाउने हो । कमेडियन गर्ने होइन । देश बनाउने हो ।’

कांग्रेस सह–महामन्त्री डा.महतले कम्युनिस्ट र मधेसवादी दलहरूले जितेको स्थानीय तहमा चरम भ्रष्टाचार रहेको बताएका छन् । प्रदेश २ मा मधेशवादी दलको सरकार रहेको भन्दै तीन वर्षमा सरकारले केही गर्न नसेको बरु लाखमा होइन करोड–अर्बमा भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

मधेशवादी दलका नेताहरू ठूलो दलसँग मिलेर जहिले पनि सत्तामा जाने गरेको बताएका डा.महलते भने, ‘ओलीजीसँग मिलेर सरकारमा गएका थिए । दुई वर्ष सरकारमा बसे । के काम गरे ? मधेसी जनताको नाममा राजनीति गर्ने कम्युनिस्ट र मधेशवादी दलहरूलाई जनताले चिन्न जरुरी छ ।’

‘कांग्रेसले कसैलाई भेदभाव गर्दैन । कांग्रेसको जग भनेको तराई मधेस हो । हाम्रो जरा मजबदु छ । एक–दुइटा काटन सकिएल । रुख ढाल्न सक्दैनन्’, उनले भने, ‘आउने निर्वाचनमा कांग्रेसले जित्नेछ । तराई मधेसविना कांग्रेस पूर्ण हुँदैन । तराई मधेस हाम्रो अभिन्न अंग हो ।’

सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवको सभापतित्वमा भएको विरोध सभालाई केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वसांसद राजिवबिक्रम शाहलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

हजारौँको संख्यामा उपस्थित भएका कांग्रेस कार्यकर्ताले नेकपाको सरकार र प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका थिए ।

Published : Monday, 2021 February 15, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया