ओलीलाई कुर्सीबाट घिसारेर सडकमा ल्याउने कांग्रेस नेता चौधरीको चेतावनी

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरीले ‘जनता मेरो पक्षमा मात्रै छन्’ भन्ने भ्रममा प्रधानमन्त्री केपी ओली रहेको बताएका छन् ।

दाङको घोराहीमा सोमबार आयोजित नेपाली कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै चौधरीले जनता कांग्रेस पार्टीको पक्षमा रहेको बताए । उनले जनता ओलीको पक्षमा मात्रै नरहेको बताए ।

‘केपी ओलीलाई लाग्न साक्छ जनता मेरो पक्षमा मात्रै छ । चेतावनी दिन चाहन्छौं केपी ओलीजी । तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाली जनताको अधिकार खोस्न दुश्साहस गर्दै थिए । त्यति बेला पनि राजा ज्ञानेन्द्रका पछाडि जनता थिए’, उनले भने, ‘जुन बेला राजा ज्ञानेन्द्रले आफ्नो कुर्सी गुमाउनु पर्‍यो, त्यति बेला राजा ज्ञानेन्द्रको पक्षमा जय–जयकार गर्ने मान्छे थिएनन् । ओलीजी अहिले त्यही पथमा हुनुहुन्छ ।’

‘तपाईका कदमहरू गैह्रसंवैधानिक छन् । जनताका आधिकारका विरोधमा छन् । जनताले वर्षौंदेखि संघर्ष गरेर ल्याएको संविधानलाई तपाईले दुश्साहसीपूर्वक, कायरतापूर्वक संसद विघटन गर्नुभयो । तपाईलाई कहाँबाट अधिकार प्राप्त भयो’, कांग्रेस नेता चौधरीले भने, ‘तपाई संसदबाट भाग्ने प्रयास गर्नुभयो । जनताको अधिकारलाई च्यातचुत गर्ने जुन दुश्साहस गर्नुभयो यसको मूल्य तपाईले चुकाउनुपर्छ ।’

नेकपाका दुई ठूला नेताहरूको आन्तरिक द्वन्द्वका कारण मुलुकलाई दलदलमा फसाउन मिल्छ ? भनेर कांग्रेस केन्द्रीय सदस्य चौधरीले प्रश्न गरेका छन् ।

‘मुलुकलाई अर्बौंको खर्चमा फसाउन मिल्छ ? तपाईले गरेका हरेक कदमको हिसाब किताब आगामी निर्वाचनमा, आउने दिनहरूमा जनताले लिएरै छाड्नेछन्’, उनले चेतावनी दिएका छन् ।

‘तपाई सुध्रिनुहोस् । अहिले पनि मौका छ । तपाई धेरै नमात्तिनुस् यो देशमा जसले जनताको कदमविरुद्धमा कदम चाले । जसले जनताका अधिकार खोस्ने दुश्साहस गरे ती तानाशाहरू इतिहाँसको पानामा सीमित भएका छन् केपी ओलीजी’, उनले भने, ‘तपाई नर्बिनुस् ओलीजी जुनदिन तपाईको कुर्सीबाट थुतेर सडकमा ल्याउँछन् त्यस बेला तपाईको हैसियत थाहा पाउनु हुनेछ । बिनम्रतापूर्वक भन्छौँ ओलीजी तपाई सच्चिनुहोस् ।’

ओलीले नेपाली जनताको लोकतन्त्रमाथिको आस्था र विश्वास खोस्ने प्रयास गर्ने हो भने पतन अवश्य हुने चौधरीले बताएका छन् ।

ओलीको क्रियाकलापको विरोध गरेको बताएका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले लोकतन्त्रमाथि गर्ने प्रहारविरुद्ध प्रदर्शन गर्ने बताए ।

संविधानसभाबाट बनाएको संविधानले देशमा कुनै पनि तानाशाह आउने छैनन् भन्ने लागेको बताएका नेता चौधरीले भने, ‘तानाशाह जन्मिने कार्य ओलीले देखाउनुभएको छ ।’

कम्युनिस्टहरूले लोकतन्त्रप्रति कहिल्यै आस्था नराख्ने गरेको बताएका उनले कम्युनिस्टले जनताप्रति गद्दारी गरेको बताए । उनले जनता बलियो भएको कहिल्यै पनि कम्युनिस्टले देख्न नचाहेको बताए ।

उनले कम्युनिस्टलाई नेपालबाट विदा गर्नुपर्ने समय आएको बताए । कम्युनिस्टहरू बिलय भएर जाने अवस्थामा रहेको नेता चौधरीले भविष्यवाणी गरेका छन् ।

भागरथी भट्टको बलात्कारपछि हत्या भएको बताएका नेता चौधरीले सरकारका दलालहरूलाई दोषीलाई पक्राउ गरेर कारबाही गर्न आग्रह गरेका छन् ।

(दाङ कांग्रेसका युवा नेता गणेश बेल्वासेको सहयोगमा)

Published : Monday, 2021 February 15, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया