वामदेवले नेकपालाई तेस्रो टुक्रा बनाए ! कार्यसमितिमा श्रीमती–पूर्व डन–सजाय पाएकाहरू

काठमाडौं । राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’को केन्द्रीय समन्वय समिति बनाएका छन् ।

गौतमले ६ सय ६७ सदस्यीय समिति बनाएका हुन् । उनले केन्द्रीय कार्यसम्पादन समितिलाई पनि अन्तिम रूप दिएका छन् ।

गौतमले अभियानको सह–संयोजकमा हरि पराजुलीलाई तोकेका छन् । सचिवको जिम्मेवारी बाबुराम थापालाई दिइएको छ ।

गौतमले नेकपाको तेस्रो गुटको झल्को दिने गरि केन्द्रदेखि जिल्लासम्म समानान्तर संगठन बनाएपछि नेकपामा तेस्रो पार्टीको जन्मिएको चर्चा भएको छ ।

गौतमको कार्यसमितिमा ‘पूर्व गुण्डा नाइके’ले पनि स्थान पाएका छन् । गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई गौतमले कार्यसमितिमा राखेका छन् । मनाङे विगतमा विभिन्न अपराध गरेको अभियोगमा पटक–पटक पक्राउ परेर सजाय पाएका व्यक्ति हुन् । मनाङ जिल्लाबाट मनाङेले स्वतन्त्रबाट गण्डकी प्रदेशको सांसदमा जितेका थिए ।

कहिले एमालेमा प्रवेश गर्ने, कहिले नेकपामा प्रवेश गर्दै आएका मनाङेले स्वतन्त्र सांसदको परिचय पत्र बोक्छन् ।

गौतमले केन्द्रीय कार्यसमितिमा आफ्नी पत्नी तुलसा थापालाई समेत राखेका छन् । संयोजक गौतमले भ्रष्टाचार अभियोगमा सजाय पाएका व्यक्तिलाई पनि राखेका छन् ।

गौतमको कार्यसमितिमा गंगा चौधरी सत्गवा, इन्दिरा पन्त, डिबी कार्की, डोलबहादुर कार्की, ताजमोहम्मद मियाँलगायतका व्यक्ति मनोनीत भएका छन् ।

दाङ घर भइ काठमाडौंमा जग्गा र हाउजिङ कारोबार गर्दै आएका प्रकाश आचार्यलाई पनि गौतमले कार्यसमितिमा राखेका छन् ।

अभियानका संयोजक गौतमले विभिन्न जिल्लाहरूमा ईञ्चार्ज पनि तोकेका छन् ।

गौतमको अभियानमा जिल्ला ईञ्चार्ज हुनेहरूमा अर्जुन कार्की (कञ्चनपुर), अमरनाथ रेग्मी (स्याङजा), आङबाबु लामा (रामेछाप), इमानसिंह भारती (प्यूठान), कमलमणि गौतम (संखुवासभा), कृष्ण उप्रेती (उदयपुर), केदार केसी (ललितपुर), गंगा चेम्जोङ (पाँचथर), गणेश गुरागाइँ (सुनसरी), गणेश जोशी (दार्चुला), गोवर्धन खड्का (भक्तपुर), घनश्यामप्रसाद गौतम (मकवानपुर), चन्द्रबहादुर बुढा (मुगु), चिरञ्जीवी शाही (बाजुरा), छविराज जोशी (कैलाली), जीवलाल पौडेल (कपिलवस्तु) रहेका छन् ।

जीएन पराजुली (सिन्धुपाल्चोक), जोखबहादुर राना (दाङ), टीकाराम भुसाल (पर्वत), डम्बरबहादुर कार्की (दैलेख), डा.रामकुमार अधिकारी (धादिङ), दीपक चापागाइँ (झापा), दीपक राय यादव (रौतहट), दुर्गा भण्डारी (नवलपुर), देवीराम आचार्य (कालीकोट), नन्दबहादुर खत्री (जुम्ला), निरक गुरुङ (बाँके), पूर्ण शर्मा (बर्दिया), बतहु यादव (बारा), भरत गुरुङ (ताप्लेजुङ), भद्रगोल किराती (सोलुखुम्बु), भानुभक्त पोखरेल (महोत्तरी), भुपती पाण्डे (पाल्पा)लाई जिल्ला ईञ्चार्जको जिम्मेवारी दिइएको छ ।

जिल्ला ईञ्चार्ज पाउनेमा मंगललाल श्रेष्ठ (काभ्रे), महेन्द्र अर्याल (रुपन्देही), महेश श्रेष्ठ (म्याग्दी), यादव बस्नेत (गोरखा), युवराज पौडेल (अर्घाखाँची), रविन्द्र बम (बझाङ)लगायत रहेका छन् ।

गौतमको अभियान प्रधानमन्त्री खड्गप्रसाद ओलीको नेकपाभन्दा सानो आकारको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेकपाभन्दा गौतमको अभियान आकारमा ठूलो छ ।

गौतमले कार्यसमितिमा राखेका केही नेताहरूले असन्तुष्टि जनाइसकेका छन् । आफूलाई सोध्दै नसोधी कार्यसमितिमा राखेको भन्दै धमाधम छाड्नेको संख्या बढेको छ ।

गौतमले अभियानलाई पूर्णता दिएको सूची सोमबार सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले निर्वाचनमा हारेर झ्यालबाट छिरेर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् ।

सिंहदरबारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले गौतमप्रति लक्षित गरेर निर्वाचनमा हारेर झ्यालबाट छिरेर जसरी पनि प्रधानमन्त्री बन्ने प्रवृत्ति ठीक नभएको बताएका हुन् ।

उनले हारेका व्यक्तिलाई जसरी पनि सांसद चाहियो भन्ने अनुचित दवावको पनि विरोध गरेका छन् ।

Published : Monday, 2021 February 15, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया