कम्युनिस्टसँग कुनै तालमेल हुँदैनः कांग्रेस नेता बस्नेत

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले कांग्रेस निर्वाचनमा एक्लै जाने बताए । उनले कम्युनिस्टहरूसँग चुनावी तालमेल नहुने बताएका छन् ।

उनले जनताले कम्युनिस्टहरूलाई पाँच वर्षसम्म एकलौटी रुपमा सरकार चलाउन अधिकार दिँदा पनि तीन वर्षभित्रै संसद भङ्ग गरेर अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए ।

कांग्रेसले नेकपालाई पाँच वर्ष सरकार चलाएर मुलुक र जनताको समृद्धि गर भनेर एकलौटी छाड्दा पनि तीन वर्षमा असफल भएको नेता बस्नेतले बताएका छन् ।

‘कांग्रेसले कम्युनिस्टलाई सरकार चलाउन कुनै पनि हस्तक्षेप, बाधाव्यवधान गरेको छैन । थिएन’, उनले भने, ‘आफूभित्रको झगडाले संसद भङ्ग गरेका छन् । पैसा र पदको भागबण्डा नपुगेर सडकमा झगडा गरेका छन् ।’

संसद विघटन हुनुमा प्रधानमन्त्री खड्गप्रसाद ओलीका साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल उत्तिकै दोषी छन् ।’

ओलीले एकलौटी सरकार चलाएर खाएपछि ओलीलाई हटाएर प्रचण्ड र माधव नेपालहरू प्रधानमन्त्री र अध्यक्ष बन्न खोज्दा संसद भङ्ग भएको बताए ।

यसैबीच, आइतबार बिहान धनगढीमा नेपाली कांग्रेसको खेलकुद विभागले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदाताहरूलाई विभागका प्रमुख समेत रहेका बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

खेलकुद विभागले दुई महिनादेखि विभिन्न स्थानमा रक्तदान गर्दै आएको छ । कोरोना महामारीका बेला उपचारमा रगत अभाव नहोस भनेर विभागले रक्तदान गरेको हो ।

Published : Monday, 2021 February 15, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया