कोमल ओलीको क्षेत्रमा कम्युनिस्ट फुट्दा पनि कांग्रेस हार्‍यो, तुलसीपुर अन्तरघातको पहिलो शिकार बन्यो

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएका बेला पनि दाङको तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्वको कम्युनिस्टहरूले कब्जा गरेका छन् ।

कांग्रेसले संघमा लोकतान्त्रिक समूहलाई जिताउन कांग्रेसका नेता केशव आचार्यलाई जिम्मेवारी दिएको थियो । आचार्यले कांग्रेसभित्रको विवाद मिलाउन नसक्दा अन्तरघातको शिकार कांग्रेस निकटका उम्मेदवार बनेका छन् ।

आचार्य नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी निकटका मानिन्छन् । गिरी महामन्त्री डा.शशांक कोइराला क्याम्पमा छन् ।

कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षको टिकट टेकनप्रसाद बस्नेतलाई दिएको थियो । बस्नेत यसअघि पनि संघको अध्यक्ष भइसकेका थिए ।

कांग्रेसका बस्नेतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षका उम्मेदवार रामप्रसाद चालिसेले नराम्रोसँग हराइदिएका छन् ।

नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनको नतिजा आइतबार बिहान आएको थियो ।

कम्युनिस्टका चालिसेले प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका टेकनप्रसाद बस्नेतलाई ३४ मतले हराएका छन् । चालिसेले ८२९ मत प्राप्त गरेका छन् । बस्नेतले ७९५ मत ल्याएका थिए ।

नेकपा ओली समूह दाङका जिल्ला सदस्यसमेत रहेका चालीसेले कांग्रेसका अध्यक्षका उम्मेदवार बस्नेतलाई सहजिलै हराइदिएका छन् ।

संघको उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक समूहका ललितजंग शाह निर्वाचित भएका छन् । उनले ८६० मत प्राप्त गरेका छन् । शाहका प्रतिद्वन्द्वी वामपन्थी समूहका यज्ञबहादुर केसीले ७१८ मत प्राप्त गरेर पराजित भएका छन् ।

वाणिज्य उपाध्यक्षमा मीनराज भण्डारी निर्वाचित भएका छन् । उनले ९७१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत प्राप्त गरेका छन् ।

खुल्ला उपाध्यक्षमा वामपन्थी समूहका रुपबहादुर खत्री निर्वाचित भएका छन् । उनले ८५६ मत प्राप्त गरेका छन् । प्रजातान्त्रिक समूहका तुलसीराम न्यौपानेले ६९२ मत प्राप्त गरेका छन् ।

महासचिवमा प्रजातान्त्रिक समूहका बिनिल केसी विजयी भएका छन् । केसीले १ हजार ५० मत प्राप्त गरेका छन् । केसीका प्रतिद्वन्द्वी केशवराज केसीले ५०७ मत प्राप्त गरेका छन् ।

सचिवमा खुशलराम शर्मा ६२२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी बेदप्रसाद वलीले ३२७ मत प्राप्त गरेका छन् ।

सचिवमा सपना बस्नेतले ३१३ मत प्राप्त गरिन् । दुर्गाप्रसाद भण्डारीले १६१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा देवबहादुर केसी १०५५ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी डिलबहादुर वलीले ४८६ मत प्राप्त गरेका छन् ।

सह–कोषाध्यक्षमा कमल गौतम ७३३ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी टेकप्रसाद केसीले ५३२ मत प्राप्त गरेका छन् ।

सह–कोषाध्यक्ष पदका उम्मेदवार हेमेन्द्र खड्काले २२१ मत प्राप्त गरेका छन् ।

कुल १८११ मतमध्ये १६ सय ५९ मत खसेको थियो । १७ सदस्यीय पदका लागि ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

नेकपा विभाजन भएपछि पहिलो पटक तुलसीपुरमा कांग्रेस अन्तरघातको शिकार बन्न पुगेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गिरीको क्षेत्रमा पर्ने तुलसीपुर उप–महानगरपालिकामा आफ्नै कारणले कांग्रेसको लज्जास्पद हार भएको छ ।

दाङको क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर उप–महानगरपालिकामा नेकपाकी सांसद कोमल ओलीको प्रभाव छ । यो क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी पराजित भएका थिए ।

Published : Sunday, 2021 February 14, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया