नेपालमाथि चीनको अघोषित नाकाबन्दी, कांग्रेसले बाध्य भएर मुख खोल्यो

काठमाडौं । नेपाली कांग्रेसले केरुङ नाका खोल्न चीनसँग अनुरोध गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेर चिनियाँ पक्षसँग सम्वाद गरेर केरुङ भन्सार नाका खोल्न आग्रह गरेका हुन् ।

‘आंशिक खुला गरिएको तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरू मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ’, कांग्रेसले भनेको छ, ‘चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’

चीनको वुहानबाट कोरोनाभाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा प्रवेशमा चीनले कडाई र आवागमन बन्द गरेको थियो ।

‘तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायीहरूले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

चीनले ०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले सीमा बन्द गरेको छ । त्यसपछि ढुवानी हुन सकेको छैन ।

चीनले नेपालका सबै सीमा नाकाहरू बन्द गरेर अघोषित रुपमा नाकाबन्दी गरेको भनेर आलोचना हुँदै आएको छ ।

रसुवाको भन्सार नाकामा पनि नेपालका सामान बोकेका ट्रक र कन्टेनरहरू महिनौदेखि अलपत्र छन् ।

Published : Sunday, 2021 February 14, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया