संसद ल्याउन सह–महामन्त्री डा.महतका दुई बिकल्प

सिन्धुली । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कुनै पनि हालतमा संसद आउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुलीले पार्टी कार्यालयमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सह–महामन्त्री डा.महतले संसद पुनःस्थापना वा निर्वाचनमध्ये एक बिकल्पबाट संसद आउनै पर्ने बताए । ‘मुलुकलाई संसद चाहिन्छ । चाहे पुनःस्थापना होस् ।

निर्वाचनबाट होस्’, उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको संसद विघटन गरेको विषयलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरिसकेको छ ।’

सह–महामन्त्री डा.महतले कांग्रेसले संसद विघटनको मात्र नभइ कम्युनिस्टहरूको तीन वर्षको कुशासन, अधिनायकवाद, भ्रष्टाचार, कोभिड–१९ मा भएको अनियमितताका विषयमा आन्दोलन गर्दै आएको बताए ।

संसद विघटन नभएको भए पनि कांग्रेसले आन्दोलन गर्ने तयारी गरेको उनले बताए । ‘संसद विघटन नभएको भए पनि कांग्रेसले कम्युनिस्ट सरकारको तीन वर्षको बेथिति, सर्वसत्तावाद, कुशासन, भ्रष्टाचार, कोभिड–१९ मा भएको अनियमितताको विषयमा आन्दोलन गर्ने नै थियौँ’, उनले भने, ‘कांग्रेसको आन्दोलन संसद विघटनका साथै सरकारको बेथितिका विरुद्ध आन्दोलन गरेका हौँ ।’
उनले कांग्रेस संविधान र कानूनमा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्च अदालतको फैसलालाई मान्ने बताए ।

‘प्रधानमन्त्रीले संसद विघटन गर्दा जुन स्टेप प्रयोग गर्नुपर्ने हो त्यो प्रयोग नगरेकोले कांग्रेसले विरोध गरेको हो’, डा.महतले भनेका छन् ।

‘सहज हुँदा स्वागत र असहज हुँदा विरोध गर्ने गर्दा हामीलाई अपजस आउँछ’, उनले भने, ‘पचास वर्ष सरकार चालउँछु भन्नेले तीन वर्षमै संसद विघटन गरेर जनतामा जाने भन्नुभएको छ । कांग्रेसले कम्युनिस्टलाई हात उठाएर दिँदा पनि चलाउन सक्नुभएन ।’

‘धेरै अस्थिरता भयो भनेर दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइन व्यवस्था गरियो’, उनले भने, ‘विघटनको विषय सर्वोच्च अदालतमा पुगेको छ । कुनै पनि विषयमा विवाद भयो भने त्यसको न्याय निरुपण गर्ने सर्वोच्च अदालत हुनेछ भनेका छौँ ।’

उनले भने, ‘कांग्रेसले यो वा त्यो गरेन भनेर कम्युनिस्टले देखाउँछन् । प्रचण्ड–मावधले आन्दोलन गरेका छन् । स्वरमा स्वर मिलाएन भनेर आएका छन् । हामीले अलोकतान्त्रिक भनेर वडासम्म आन्दोलन गरेर भनेका छौँ ।’

‘संसद विघटनबाट कसैलाई फाइदा होला भन्ने लागेको होला’, उनले भने, ‘कांग्रेसको निर्णय भनेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो ।’

‘माधव–प्रचण्डको विरोध एक बुँदे एजेण्डा संसद पुनःस्थापना हो’, उनले भने, ‘हाम्रो निर्णय सर्वसम्मत निर्णय गरेर सरकारको तीन वर्षे बेथिति र संसद विघटन हो ।’

‘कम्युनिस्टको तीन वर्षको सर्वसत्तावाद, कोभिडको कुशासनविरुद्ध कांग्रेसको आन्दोलन हो । तीन वर्षमा देशले ठूलो मूल्य चुकायो । संसद विघटन नभएको भए पनि हामीले आन्दोलन गर्ने थियौँ’, डा.महतले भने, ‘विरोधको कार्यक्रममा संसद विघटनको कुरा थपियो ।’

‘माधव–प्रचण्डले तीन वर्षको कुशासनलाई उठाएका छैनन्’, उनले भने, ‘संसदमा सभासमुख र उप–सभामुख अलग–अलग पार्टीको हुनुपर्ने थियो । संवैधानिक व्यवस्था छ । तर, कम्युनिस्टहरूले दुबै पद संविधान विपरित राखे ।’

‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गरेको ३ जना राष्ट्रिय सभाको सांसदको नाम सत्र दिन राष्ट्रपतिद्वारा राखियो’, उनले भने, ‘ओली आउनेवित्तिकै तीन जना सांसद ल्याइयो । संविधानको मूल्य र मान्यता कुल्चने काम गरियो । हामीले विरोध गरेका छौँ ।’

उनले भने, ‘ओलीलाई हटाएर प्रचण्ड–माधवजीहरू प्रधानमन्त्री बन्न खोजेपछि संसद विघटन भयो ।’

उनले संविधान सम्झौताको दस्तावेज भएको बताएका छन् । ‘संविधान हामीलाई पनि चित्त बुझेको छैन’, उनले भने, ‘सनातन धर्मको संरक्षण गर्ने कुरा राज्यको हो । हरेक धर्म मान्नेले स्वतन्त्र रुपमा मान्न पाउनुपर्छ’, डा.महतले भने, ‘कांग्रेसले धार्मिक स्वतन्त्रता भनेको थियो । कम्युनिस्टले मानेन् । धर्मनिरपेक्षता राख्नुप¥यो ।’

उनले भनेका छन्, ‘कम्युनिस्टले प्रोपोगाण्डा गर्ने । त्यसको शिकार हामी भएका छौं । कम्युनिस्टबाट हामीले सिक्ने भनेको प्रचारको कुरा हो । कम्युनिस्टको असफल बिचार सिक्नुपर्दैन । संसारभरि विस्थपित भएको कम्युनिस्ट नेपालमा दुईतिहाइले जितेका छन् । कम्युनिस्टलाई संसारले रिजेक्ट गरिसक्यो । नेपालमा मात्रै कम्युनिलाई अकंमाल गरेका छौँ । गफ र प्रचार विक्री भएको छ ।’

डा.महतले सभाहरूमार्फत ओली र प्रचण्ड–माधवले एकले अर्कालाई जवाफ दिएको बताएका छन् । उनले भने, ‘उहाँहरूले प्रहसन र मनोरञ्जन गरे जस्तो लाग्छ ।’

कांग्रेसबाट पनि कमिकमजोरी भएको बताएका डा.महतले भने, ‘हामीभन्दा धेरै नकारात्मक काम कम्युनिस्टले गरेका छन् ।’

‘व्यक्तिलाई केन्द्रमा राख्ने पार्टीलाई ओझेलमा पार्ने काम गर्नु हुँदैन’, उनले भने, ‘व्यक्तिगत प्रचार गर्न थाल्यौँ भने पार्टी व्यवस्था बलियो हुँदैन । भोट प्रतिशत बढाउनुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसांसद एवम् युवा नेता राजिवबिक्रम शाहले कम्युनिस्टहरूको कारण देशले तीन वर्षमा ठूलो मूल्य चुकाउनुपरेको बताए ।

‘कम्युनिस्टहरूको भ्रष्टाचार, बेथितिले जनता आजित बनेका छन् । जनताले कम्युनिस्टको बिकल्प खोज्न थालेका छन्’, उनले भने, ‘मुलुकलाई कांग्रसले पार लगाउँछ ।’

कम्युनिस्टहरू पूरै असफल भएको बताएका उनले कांग्रेसले निर्वाचनमा जित्ने दाबी गरे ।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बरालले कम्युनिस्टहरूविरुद्ध आन्दोलनभन्दा अर्को बिकल्प नरहेको बताए । उनले जनताले कांग्रेसलाई खोज्न थालेको बताए ।


सिन्धुली हुँदै कांग्रेसका सह–महामन्त्री डा.महत सोमबारको विरोध सभालाई सम्बोधन गर्न सिरहा प्रस्थान गरेका छन् ।

Published : Sunday, 2021 February 14, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया