झाँक्री पनि विष्णु पौडेल जस्तै काठमाडौंमा चार तले घर भएको ‘सुकुम्वासी’, कहाँबाट आउँछ कम्युनिस्टलाई सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्थात् ‘सरकारी नेकपा’को ‘साइबर सेना’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेकपाविरुद्ध साइबर हमला जारी राखेका छन् ।

सरकारी नेकपाका कथित साइबर सेनाले सामाजिक सञ्जालमा प्रचण्ड–माधव समूहविरुद्ध नानाथरीका पोस्टहरू गर्ने गरेका छन् । तस्वीर बिगार्नेदेखि भिडियोहरूलाई जोडजाड गरेर सामाजिक सञ्जालहरूमा अपलोड गर्ने गरिएको छ ।

प्रचण्ड–माधव समूहभन्दा ओली समूहका नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा कब्जा जमाएका छन् । साइबर सेनाको प्रमुख दाबी गर्ने ओली समूहका नेता महेश बस्नेतले पनि फेसबुकमा नानाथरी पोस्टहरू राख्ने गरेका छन् । उनले भ्रम छर्ने खालका समाचारहरू पनि बेलाबेला सेयर गर्ने गरेका छन् ।

बस्नेतले नै साइबर सेना बनाएर हमला गर्ने एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए ।

केही दिन अगाडि काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड–माधव समूहको विरोध सभाको तस्वीरलाई फोटोसपमार्फत बिगारेर भारत र नेपाली कांग्रेसको झण्डा राखेको देखिएको छ ।

प्रचण्ड–माधव समूहको विरोध जुलुसमा हजारौँ कार्यकर्ताको उपस्थिति रहेको थियो । जुलुसमा भारतीय झण्डा राखेर तस्वीर भाइरल बनाइएको थियो । त्यसको केही समयपछि तस्वीरमा कांग्रेसको झण्डा पनि राखिएको थियो ।

प्रचण्ड–माधव समूहको विरोध जुलुसमा भारत वा कांग्रेसको झण्डा देखाउने हिम्मत कसले गरोस् ? भारत वा कांग्रेसको झण्डा देखाएको भए प्रचण्ड–माधवका अरिँगालहरूले झण्डा देखाउने व्यक्तिलाई बाँकी राख्ने थिए ? कुटपिट गरेर धुलो बनाउने थिए ।

हुन त यो मामिलामा प्रचण्ड–माधव समूहका साइबर सेना पनि कम्तिका छैनन् । प्रचण्ड–माधव समूहका साइबर सेनाले ओली समूहले सत्ताको दुरुपयोग गरेर मोटरसाइकल र्‍यालीमा नेपाल आयल निगमको डिपो (पम्प)बाट पेट्रोल मोटरसाइकलमा भर्दै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

सरकारी नेकपाले आफ्नो जनप्रदर्शनहरूमा सत्ताको चरम दुरुपयोग गर्दै आएको आरोप लाग्दै आएको छ । मोटरसाइकलमा तेल भर्दै गरेको तस्वीरले पनि सरकारी नेकपा राज्यको सम्पत्ति दुरुपयोगमा कति लागेको छ भन्ने कुरा पुष्टि पनि हुन्छ ।

सरकारी नेकपाको साइबर सेनाले रामकुमारी झाँक्रीको चार तले घरको तस्वीर नै सार्वजनिक गरेका छन् । सर्वहारा वर्गको मुक्तिको लागि राजनीति गरेको बताउने नेतृ झाँक्रीले काठमाडौंको बुद्धनगरमा चार तलाको घर कसरी बनाइन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठाएको छ । नेतृ झाँक्रीलाई घर बनाउँदाको आय स्रोतको हरहिसाब माग गरिएको छ । झाँक्रीले काठमाडौंको मुटु मानिने शंखमुलमा बनाएको घरका विषयमा अहिलेसम्म केही भनेकी छैनन् ।

त्यति मात्रै होइन नेकपाकी नेतृ झाँक्रीले उप–सचिव रहेका आफ्ना पतिलाई राजनीतिक पावर लगाएर कमाइ हुने आकर्षक ठाउँमा राखेको आरोप पनि छ ।

सामाजिक सञ्जालमा बालुवाटार जग्गा किनबेच गर्ने अर्थमन्त्री विष्णु पौडेल जस्तै प्रचण्ड–माधव समूहको नेकपामा झाँक्री पनि सुकुम्वासी नेतृ भएको भन्दै ब्याङ्ग भएको छ ।

छोराको नाममा रहेको बालुवाटारको सरकारी जग्गा पौडेलले पछि सरकारलाई फिर्ता गरेका थिए । नेकपाका महासचिव समेत रहेका पौडेलको रुपन्देहीमा सुकुम्वासी बस्तीमा घर अहिले पनि छ । ललितपुरको भैँसेपाटीमा पनि पौडेलले भव्य भवन बनाएका छन ।

गोरखाको एउटा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘सेतो साडी’मा राजनीति गरेको भनेर होच्याएकी थिइन् । त्यो भाषणमा झाँक्रीले राष्ट्रपति भण्डारीमाथि तल्लोस्तरको अराजनीतिक अभिव्यक्ति दिएकी थिइन् । त्यही अराजनीतिक र अमर्यादित अभिव्यक्तिले गर्दा नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेर बयान लिएर छाड्नु परेको थियो ।

कम्युनिस्टहरू मौका मिल्दा र अवसर पाउँदासम्म एकै ठाउँमा बस्छन् । अवसर पाउन छाड्दा एकले अर्कालाई खुइल्याउन पछाडि पर्दैनन् भन्ने उदाहरण ओली–प्रचण्ड र माधव नेपालसहितका कम्युनिस्टहरूले दिएका छन् ।

Published : Sunday, 2021 February 14, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया